
अन्तर्राष्ट्रिय स्पेस स्टेसन(आईएसएस)मा गत जुनदेखि रहेका अमेरिकी अन्तरिक्षयात्री सुनी विलियम्स र बुट्च विलमोरले आफूहरूलाई अन्तरिक्षमा ‘अलपत्र पारिएको’ भन्ने दाबी अस्वीकार गरेका छन् ।
बोइङ स्टारलाइनरको पहिलो मानवसहितको परीक्षण उडानमार्फत अन्तरिक्ष पुगेका यी दुई अन्तरिक्षयात्रीलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र स्पेसएक्सका सीईओ एलन मस्कले अन्तरिक्षमा अलपत्र परेको दाबी गरेका थिए ।
तर, विलमोरले उक्त आरोप खण्डन गर्दै आफूहरूलाई नपारिएको र आफूहरू त्यहाँ नफसेको स्पष्ट पारेका छन् ।
'हामी यहाँ अलपत्र परेको धारणा पृथ्वीमा बनाइएको छ,' विलमोरले सीएनएनसँगको अन्तर्वार्तामा भनेका छन्, 'तर यो वास्तविकता होइन । हामीलाई छाडिएको छैन, हामी फसेका छैनौं र हामी अलपत्र पनि परेका छैनौं ।'
अर्बपति व्यापारी मस्कले गत जनवरीको अन्त्यतिर सामाजिक सञ्जाल एक्समा पोष्ट गर्दै अमेरिकी पूर्वराष्ट्रपति जो बाइडेन प्रशासनले दुई अन्तरिक्षयात्रीलाई अलपत्र छाडेको आरोप लगाएका थिए ।
'राष्ट्रपति ट्रम्पले हामीलाई आईएसएसमा अलपत्र परेका ती दुई अन्तरिक्षयात्रीलाई छिटोभन्दा छिटो पृथ्वीमा ल्याउन भनेका छन् । हामी त्यसो गर्दैछौं,' मस्कले पोष्ट गरेका थिए ।
डोनाल्ड ट्रम्पले पनि ट्रुथ सोसलमा लेख्दै बाइडेन प्रशासनद्वारा सुनी र विलमोरलाई अन्तरिक्षमा 'परित्याग' गरिएको आरोप लगाएका थिए ।
तर, नासाले यी दाबी अस्वीकार गर्दै स्पेसएक्सको मिसनमार्फत अन्तरिक्षयात्रीलाई सुरक्षित रूपमा पृथ्वीमा फर्काउने योजना गत अगस्टमै बनाइसकेको स्पष्ट पारेको छ ।
हामी परीक्षणका लागि तयार थियौं- सुनी
अन्तरिक्षयात्री सुनीले आफू र विलमोर परीक्षण उडानका लागि तयार भएर गएका कारण यसमा कुनै आश्चर्य नभएको बताइन् ।
'हामीलाई थाहा थियो कि यो एक परीक्षण उडान हो । हामीले केही समस्या फेला पार्नेछौं भन्ने अपेक्षा गरेका थियौं र त्यो फेला परेको हो,' उनले भनिन् ।
बोइङको स्टारलाइनरमा प्रपल्सन प्रणालीका समस्या र ग्यास लिक देखिएपछि नासाले दुवै अन्तरिक्षयात्रीलाई पृथ्वीमा फर्काउने योजना परिवर्तन गर्दै स्पेसएक्सको क्याप्सुल प्रयोग गर्ने निर्णय गरेको थियो ।
नासाले पछिल्लो अपडेटमा सुनी र विलमोरलाई फागुन अन्तिमतिर वा चैत पहिलो हप्तामा नै पृथ्वीमा फर्काइने बताएको छ ।
नासाका अनुसार क्रु-१० मिसनका अन्तरिक्षयात्रीहरू म्याकलेन, निचोल आयर्स, जापानी अन्तरिक्षयात्री ताकुया ओनिशी र रसियन कोस्मोनट किरिल पेस्कोभलाई अन्तरिक्षमा पठाइने मिति मार्च १२ तोकिएको छ ।
यसअघि नासाले सुनी र विलमोरलाई मार्च अन्त्यतिर फर्काउने योजना बनाएको थियो, तर क्रु-१० को नयाँ प्रक्षेपण तालिकाअनुसार उनीहरू केही छिटो फर्कन सक्नेछन् ।
स्टारलाइनर अन्तरिक्षयानमा देखिएको प्राविधिक समस्याका कारण एक हप्तामात्र अन्तरिक्षमा बस्ने गरी गएका सुनी र विलमोरले अन्ततः लामो बसाई बस्नुपरेको हो ।