
वैदेशिक रोजगारीको प्रलोभन देखाएर १४ जनासँग ७१ लाख ७० हजार रूपैयाँ ठगी गरेको आरोपमा भक्तपुर प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
भक्तपुरको विभिन्न स्थानबाट पक्राउ परेका उनीहरूलाई ठगी सम्बन्धी कसूरमा जिल्ला अदालत भक्तपुरबाट पाँच दिनको म्याद थप अनुमतिसहित अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–७ का ४१ वर्षीय गणेशबहादुर थापा र काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–४ काफ्लेचोकका ३९ वर्षीय दिनेश प्रसाद अधिकारी छन्।
थापा हाल भक्तपुर चाँगुनारायण नगरपालिका–२ दुवाकोटमा र अधिकारी बनेपा नगरपालिका–६, बनेपामा बस्दै आएका जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी, डीएसपी ढुण्डीराज नेउपानेले जानकारी दिए ।
प्रहरीका अनुसार, उनीहरूले बेरोजगार युवायुवतीलाई क्यानडा, अजरबैजान र मरिसस पठाउने भन्दै लामो समय झुक्याइ विदेश नपठाई सम्पर्कविहीन भएका थिए । पीडितहरूले दिएको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको डीएसपी नेउपानेले बताए ।
प्रहरीले अन्य व्यक्तिहरू पनि उनीहरूबाट ठगीमा परेका भए जिल्ला प्रहरी परिसर भक्तपुरमा सम्पर्क गर्न अनुरोध गरेको छ।