
रसुवा, ६ मंसिर–वाम गठबन्धनका तर्फबाट रसुवा जिल्लाका प्रतिनिधिसभाका उम्मेदवार जनार्दन ढकालले अब केरुङबाट काठमाडौं–पोखरा–दम्बिनी रेलमार्ग निर्माणको काम कसैले रोकेर नरोकिने बताएका छन् ।
चुनावी प्रचारका क्रममा रसुवामा आयोजित कार्यक्रममा निवर्तमान सांसद समेत रहेका ढकालले चिनियाँ रेल नेपाल ल्याउने पहल आफूहरुले गरिरहेको बताए ।
उनले केपी ओलीको सरकारका बेलामा भएका दिर्घकालिन महत्वका सम्झौताहरु कार्यान्वयन गर्न र नेपाललाई समृद्ध बनाउन वाम गठबन्धनलाई दुई तिहाई बहमत आवश्यक रहेको बताए ।
नेता ढकालले केरुङ मार्गलाई अन्तर्राष्ट्रिय मार्ग बनाइसकिएकाले अब रसुवाको पनि समृद्धिको ढोका खोलिएको उल्लेख गरे ।
रसुवागढी नाकालाई प्राथमिकतामा राख्न र चीनसँगको व्यापार रसुवागढीबाट हुने वातावरण बनाउन आफुले महत्वपुर्ण भुमिका खेलेको बताए । नेता ढकालले रसुवाबाट अन्तर्राष्ट्रि नाकाको ढोका खोलिएको उल्लेख गर्दै अब बन्ने वाम गठबन्धनको सरकारले रसुवालाई उच्च प्राथमिकता दिने अाश्वासन दिए ।

नेता ढकालले भूकम्प पछिको पुनर्निर्माण, राहत वितरण र उद्दारमा आफुले खेलेको भूमिका रसुवाबासीले सम्झिरहेको उल्लेख गर्दै आफ्नो विजय निश्चित भएको दाबी गरे ।
नेता ढकालले रसुवाबासीले विकास र समृद्धि चाहेको उल्लेख गर्दै आफुसँग रसुवा विकासमा स्पष्ट भिजन रहेको पनि बताए । ढकालले वाम गठबन्धनका सबै उम्मेदवारलाई विजयी गराउन पनि रसुवाबासीसँग आग्रह गरेका छन् ।