
काठमाडौंको कमलपोखरीस्थित शान्दार मःम पसलमा भएको ग्यास विस्फोट घटनामा घाइते भएका अर्का एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । यससँगै यो घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ ।
घटनामा घाइते भएका काभ्रेको बेथानचोक गाउँपालिका धुनखर्क घर भइ हाल काठमाडौं कमलपोखरी बस्ने २५ वर्षीय छिरिङ लामाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, एसपी अपील राज बोहोराले जानकारी दिए ।
लामाको गएराति करिब पौने १२ बजे कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको एसपी बोहोराले जानकारी दिए ।
यसअघि यही घटनामा घाइते भएर उपचाररत उदयपुरको उदयपुरगढी-७ घर भइ हाल काठमाडौं बस्दै आएका २२ वर्षीय प्रदीप तामाङको शुक्रबार मृत्यु भएको थियो ।
यस्तै, मकवानपुरको मनहरी गाउँपालिका–५ डिल्लीपुरका १८ वर्षीय रबिन राई र उदयपुरको कटारी नगरपालिका–८ गालटारका २५ वर्षीय भीम बहादुर घले मगर (नवीन)को उपचारका क्रममा सोमबार मृत्यु भएको थियो ।
ग्यास विस्फोट घटनामा परेर यी चारसहित १४ जना घाइते भएका थिए ।