
अमेरिका र रूसबीच युक्रेन युद्ध अन्त्यका लागि सिधा वार्ताको सम्भावना बढेसँगै युरोपियन नेताहरूले आकस्मिक बैठकको तयारी गरेका छन् ।
अमेरिकाले युरोपेली नेताहरूलाई सिधा वार्ता प्रक्रियामा सहभागी नगराउने संकेत देखाएपछि युरोपेली देशहरू एकत्रित भई नयाँ रणनीति बनाउन लागेको बताइएको छ ।
फ्रान्सका राष्ट्रपति इम्यानुएल माक्रोनको नेतृत्वमा आगामी हप्ता पेरिसमा हुने यो बैठकमा जर्मनी, बेलायत, पोल्याण्डलगायत युरोपियन युनियनका प्रमुख सदस्य राष्ट्रको सहभागिता रहनेछ ।
बैठकको उद्देश्य अमेरिकाले रूससँग गर्ने सम्भावित सम्झौताले युरोपमा पार्ने असरबारे छलफल गर्नु र युक्रेन युद्धमा युरोपको भूमिकालाई पुनः परिभाषित गर्नु रहेको बीबीसीले जनाएको छ ।
ब्रिटेनका प्रधानमन्त्री कीयर स्टार्मरले यसलाई पुस्तौंपछि आएको सुरक्षा संकटको संज्ञा दिँदै युरोपले अब नाटोमा प्रमुख भूमिका खेल्नुपर्ने बताए ।
‘हामीले अमेरिका र युरोपबीचको सहकार्यलाई बलियो बनाउनुपर्छ । हाम्रो ध्यान बाह्य शत्रुतिर केन्द्रित हुनुपर्छ, आन्तरिक मतभेदले विचलित गरिनुहुँदैन,’ उनको भनाइ उदृत गर्दै बीबीसीले लेखेको छ ।
स्टार्मरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गर्न वासिङ्टन जाने र युरोपियन नेताका धारणा त्यहाँ प्रस्तुत गर्ने बताए ।
युक्रेन युद्ध अन्त्यका लागि अमेरिका र रूसबीच सिधा वार्ता गर्ने तयारी भइरहेको अमेरिकी अधिकारीहरूले बताएका छन् ।
ह्वाइट हाउसका वरिष्ठ अधिकारीका अनुसार अमेरिकी विदेशमन्त्री मार्को रुबियोसहित ट्रम्प प्रशासनका उच्च अधिकारीहरू आगामी दिन साउदी अरेबियामा रूसी तथा युक्रेनी वार्ताकारहरूसँग भेटघाट गर्नेछन् ।
डोनाल्ड ट्रम्पका विशेष दूत कीथ केलेगले वार्तामा धेरै पक्ष संलग्न भएका कारण अघिल्ला वार्ताहरू असफल भएको तर्क गरेका छन् ।
‘कहिलेकाहीँ सत्य अप्रिय लाग्न सक्छ । तर, म भन्छु धेरै पक्ष सहभागी हुँदा वार्ता जटिल बन्न जान्छ । यसपटक हामीले सीमित सहभागिता सुनिश्चित गर्नेछौं,’ उनले भने ।
यसअघि, अमेरिकी राष्ट्रपति ट्रम्पले रूसी समकक्षी भ्लादिमिर पुटिनसँग फोन वार्ता गर्दै शान्ति प्रस्ताव अघि बढाउने बताएका थिए ।
ट्रम्पले आफूले रूससँग वार्ता गर्ने निर्णय गरिसकेपछि मात्रै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई जानकारी गराएका थिए, जसले युक्रेनमा असन्तोष निम्त्याएको छ ।
अमेरिकाले युरोपलाई वार्ताबाट अलग्याउने संकेत देखाएपछि पोल्याण्डका विदेशमन्त्री राडोस्लाव सिकोरस्कीले राष्ट्रपति माक्रोनको पहलमा आकस्मिक बैठक बोलाइएको पुष्टि गरेका छन् ।
उनले भने, ‘राष्ट्रपति ट्रम्पको रणनीति परीक्षण गर्ने शैली छ । उनी एक कदम चाल्छन्, प्रतिक्रिया हेर्छन् र आफ्नो योजना परिमार्जन गर्छन् । हामीले पनि सोहीअनुसार जवाफ दिनुपर्छ ।’
यता, फ्रान्स, जर्मनी, बेलायतलगायतका देशले युक्रेनमाथिको आक्रमण रोक्न रूसलाई दबाब दिन संयुक्त रणनीति बनाउने प्रयास गरिरहेका छन् ।
बेलायती प्रधानमन्त्री स्टार्मरले भने, ‘हामीले अमेरिका र युरोपलाई एकताबद्ध राख्न काम गर्नुपर्छ । यसबेला हामी विभाजित हुन सक्दैनौं ।’
वार्ता प्रक्रियामा आफूलाई नअलग्याउनयुक्रेनको कडा चेतावनी
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ‘युरोपेली सेना’ गठनको प्रस्ताव अघि सारेका छन् । म्युनिख सुरक्षा सम्मेलनमा बोल्दै उनले अमेरिकासँगको पुरानो सम्बन्ध सकिएको भन्दै युरोप अब नयाँ सन्तुलन तिर जानुपर्ने धारणा व्यक्त गरेका थिए ।
उनले अमेरिकाले रूससँग गर्ने सम्भावित सम्झौताबाट युक्रेनलाई अलग्याउने प्रयास गरे आफूलाई स्वीकार्य नहुने प्रस्ट पारे ।
‘हामी हाम्रो भविष्यबारे गरिने कुनै पनि सम्झौतामा सहभागी हुन चाहन्छौं । हामीलाई पन्छाएर गरिने वार्ता मान्य हुने छैन,’ उनले भने ।
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले म्युनिख सुरक्षा सम्मेलनमा बोलेका शब्दहरूले पनि युरोपेली नेताहरूलाई सतर्क बनाएको छ । उनले युरोपले अब आफ्नै सुरक्षाको जिम्मेवारी लिनुपर्ने समय आएको बताएका थिए ।
ब्रिटेनका विदेशमन्त्री डेभिड लाम्मीले पनि युरोपियन मुलुकहरूले रक्षा खर्च बढाउनुपर्ने बताएका छन् । 'रूस सजिलै हार मान्ने छैन । २३ नाटो राष्ट्रले हाल आफ्नो कुल गार्हस्थ्य उत्पादनको कम्तीमा २% रक्षा खर्चमा लगानी गरिरहेका छन्, तर त्यो अझै बढाउनु आवश्यक छ,’ उनले भने ।
अमेरिकी कूटनीति र ट्रम्प-पुटिन सम्बन्ध
अमेरिकाले रूससँग वार्ता गर्ने योजना बनाएसँगै विश्लेषकहरूले ट्रम्प प्रशासनको कूटनीतिक शैलीबारे चर्चा गरिरहेका छन् । ट्रम्प र पुटिनबीचको सम्बन्ध पहिलेदेखि नै नजिक मानिन्छ ।
सन् २०१८ मा हेलसिन्कीमा भएको बैठकपछि ट्रम्पले रूसी हस्तक्षेपको आरोप अस्वीकार गरेका थिए, जसले अमेरिकाभित्रै विवाद जन्माएको थियो ।
यसपटक पनि ट्रम्पले रूससँग वार्ताका लागि गरेको तयारीले युरोपेली मुलुकहरूलाई अन्योलमा पारेको छ । युक्रेन युद्धको भविष्य अब अमेरिकी नेतृत्वमा तय हुने कि युरोपले स्वतन्त्र रूपमा आफ्नो रणनीति बनाउने भन्ने बहस चर्किएको छ ।
युक्रेन युद्धले युरोपियन सुरक्षा संरचनामा पुनर्विचार गर्ने बाध्यता खडा गरिरहेको छ । परम्परागत रूपमा युरोपको सुरक्षा ग्यारेन्टर बन्ने भन्दा पनि आफ्नै प्राथमिकतामा केन्द्रित रहने ट्रम्पको रणनीतिकै कारण युरोपेली नेताहरू नयाँ सुरक्षा अवधारणातर्फ उन्मुख भइरहेका छन् ।
आगामी बैठकले युक्रेन, युरोप, अमेरिका र रूसबीचको शक्ति सन्तुलनलाई कुन दिशातिर लैजाला भन्नेबारे विश्वका रणनीतिकारहरूको ध्यानाकर्षण गरेको छ ।
यदि युरोपले साझा सुरक्षा रणनीति बनाउन सकेन भने, अमेरिका र रूसबीच हुने सम्झौताले युरोपियन मुलुकहरूलाई नयाँ कूटनीतिक संकटमा पार्ने सम्भावना देखिन्छ ।
एजेन्सीको सहयोगमा