०१ असार २०८३, सोमबार

प्रपन्नाचार्य भन्ने विजय भण्डारीलाई जिल्ला र उच्चले तोकेको कैद तथा जरिवाना सर्वोच्चबाट छुट !

फागुन ४, २०८१
काठमाडौं
प्रपन्नाचार्य भन्ने विजय भण्डारीलाई जिल्ला र उच्चले तोकेको कैद तथा जरिवाना सर्वोच्चबाट छुट !

साढे २ वर्ष कैद र ८१ लाख ८५ हजार रुपैयाँ जरिवाना ठहर भएको मुद्दाका प्रतिवादी विष्णु प्रपन्नाचार्य भन्ने विजय भण्डारीलाई सर्वोच्च अदालतले कैद सजाय तथा जरिवाना छुट गरिदिएको पाइएको छ ।

धार्मिक कार्यक्रमका लागि अमेरिका लैजाने भनेर विभिन्न व्यक्तिको १ करोड २७ लाख रुपैयाँ ठगी गरेका भण्डारीमाथि तल्लो तहबाट भएको कैद तथा जरिवानाको सजाय सर्वोच्च अदालतले उल्ट्याइदिएको पाइएको हो ।

१ करोड २७ लाख रुपैयाँ बिगो दाबीसहित दायर गरिएको ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतले शुरू (थुनछेक)मै भण्डारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

त्यसैगरी, अन्य प्रतिवादीहरू कमल नयन पौडेल भन्ने कमल पौडेल र सीतालक्ष्मी गोर्खालीलाई जनही १ लाख रुपैयाँ धरौटी माग गरेकोमा पौडेलले धरौटी बुझाएर मुद्दाको पुर्पक्ष गरे पनि प्रतिवादी सुलोचना भण्डारी म्याद गुजारेर अदालतमा उपस्थित समेत भएकी थिइनन् ।

सुनुवाइपछि २०७३ मंसिर ३ गते काठमाडौं जिल्ला अदालतले  प्रतिवादी विजय भण्डारीलाई ठगी मुद्दामा दोषी ठहर गर्दै साढे २ वर्ष कैद र ८१ लाख ८५ हजार रुपैयाँ हर्जानासहित जरिवाना हुने फैसला सुनाएको थियो ।

सोही मुद्दामा काठमाडौं जिल्ला अदालतले अर्की प्रतिवादी सुलोचना भण्डारीलाई ३ महिना कैद र ३ लाख रुपैयाँ जरिवाना गरेको थियो । अन्य प्रतिवादीलाई भने सफाइ दिइएको थियो ।

कैद सजाय र जरिवाना समेत हुने काठमाडौं जिल्ला अदालतको फैसलाविरुद्ध भण्डारीले उच्च अदालत पाटनमा पुनरावेदन गर्दा पनि शुरू काठमाडौं जिल्ला अदालतकै फैसला सदर भएको थियो । २०७५ मंसिर ११ गते उच्च अदालत पाटनले शुरू अदालतकै फैसला सदर गरेको थियो ।

तर, सर्वोच्च अदालतले भने पीडित जाहेरवाला र पीडकबीच मिलापत्र गर्ने सम्झौता भएको भन्दै कैद तथा जरिवाना छुट गरिदिएको छ । २०८१ कात्तिक ११ गते सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र  बालकृष्ण ढकालको संयुक्त इजलासले भण्डारीको कैद सजाय छुट हुने फैसला गरेको हो ।

जाहेरवालाहरूले पुनरावेदक प्रतिवादी विष्णु प्रपन्नाचार्य भन्ने विजय भण्डारीबाट पाउनुपर्ने सम्पूर्ण बिगो रकम पाइसकेको भन्दै सर्वोच्चले कैद तथा जरिवाना छुट गरिदिएको छ ।

‘जाहेरवालाहरूले अन्य प्रतिवादीको हकमा समेत चित्त बुझाई मुद्दा मिलापत्र हुँदा मुलुकी फौजदारी कार्यविधिसंहिता, २०७४ को दफा १२० को उपदफा (५) मा तल्लो अदालतबाट भएको दण्ड, जरिवाना वा शुल्क छुट दिन सक्ने व्यवस्था रहेको हुँदा प्रतिवादीलाई ठहरेको कैद र जरिवाना छुट गरिदिएको,’ सर्वोच्चबाट भएको फैसलामा उल्लेख छ ।

साथै, भण्डारीको रोक्का गरिएको बैंक खाता तथा जग्गाहरू समेत फुकुवा गरिदिने फैसला सर्वोच्चले गरेको छ ।

‘प्रस्तुत मुद्दाको अनुसन्धानका क्रममा रोक्का रहेको प्रतिवादी विष्णु प्रपन्नाचार्य भन्ने विजय भण्डारीको नामका बैंक खाताहरू अन्य मुद्दा वा कारणबाट रोक्का राख्नुनपर्ने भए प्रस्तुत मुद्दाको रोहबाट फुकुवा गरिदिनू भनी सम्बन्धित निकायमा लेखी पठाइदिनू । साथै, पुनरावेदक प्रतिवादीको जेथाबापत रोक्का राखिएका जग्गाहरू अन्य मुद्दा वा कारणबाट रोक्का गर्नुनपर्ने भए प्रस्तुत मुद्दाको रोहबाट फुकुवा गरिदिनू भनी सम्बन्धित कार्यालयमा लेखी पठाइदिनू,’ सर्वोच्चको फैसलामा उल्लेख छ ।

सिर्जना कार्की समेतको जाहेरीले नेपाल सरकार र पुनरावेदक/प्रतिवादी विष्णु प्रपन्नाचार्य भन्ने विजय भण्डारी भएको ठगी मुद्दामा जाहेरवालाहरू सिर्जना कार्की समेत र प्रतिवादी विष्णु प्रपन्नाचार्य भन्ने विजय भण्डारी दुवै पक्षले मिलापत्र गरी पाऊँ भनी महान्यायाधिवक्ताको कार्यालयमा निवेदन दिएका थिए ।

मुलुकी फौजदारी कार्यविधिसंहिता, २०७४ को दफा ११७ बमोजिम संयुक्त निवेदन दिई उक्त निवेदनमा मिलापत्र गराउने गरी २०७१ असोज १६ गते महान्यायाधिवक्ता कार्यालयले पनि  निर्णय गरेको थियो ।

जाहेरवाला गणेश श्रेष्ठले ३ लाख रुपैयाँ, सिर्जना कार्कीले १ लाख रुपैयाँ, श्रीकृष्ण कार्कीले १ लाख रुपैयाँ, नवराज कार्कीले १ लाख रुपैयाँ, मित्रलाल भट्टराईले १ लाख रुपैयाँ, सुशील खत्रीले ४ लाख ७५ हजार रुपैयाँ, गोकुल खनालले १ लाख रुपैयाँ, शारदा थापाले १ लाख रुपैयाँ, शैलेस नेपालले १ लाख रुपैयाँ भण्डारीबाट पाउने गरी सहमति भएको भन्दै मिलापत्रका लागि निवेदन दिएका थिए ।

त्यसैगरी, सुनिता गुरुङ मल्लले १ लाख, भगवान कार्कीले १ लाख ५ हजार, रोजिना कार्कीले १ लाख ५ हजार, रवीन्द्र राहुलले १ लाख ५ हजार, शालिकराम ढकालले ३ लाख, रविकुमार यादवले ३ लाख, दिवाकर दाहालले ३ लाख, सुरेश दाहालले ५ लाख, अमृत दाहालले ५ लाख, जमुना अर्यालले १ लाख २० हजार, धनमोहन शर्माले २ लाख रुपैयाँ प्रतिवादी भण्डारीबाट पाउने गरी सहमति गरेको भन्दै मिलापत्रका लागि निवेदन दिएका थिए ।

त्यसैगरी, रामप्रसाद दाहालले २ लाख, शशिकुमार डंगोलले ७ लाखमध्ये ५ लाख २५ हजार, सोमलाल लवटले ७ लाखमध्ये ५ लाख २५ हजार, श्रीमन पोखरेलले ७ लाखमध्ये ५ लाख ५० हजार,  सोमलाल लवटले ७ लाखमध्ये ५ लाख २५ हजार रुपैयाँ पाउने र बाँकी बिगो दाबी छाड्न मञ्जुर गरेको भन्दै मिलापत्रका लागि निवेदन दिएका थिए ।

दीपक गिरीले ८ लाख, सुशील चन्दले ८ लाख ५० हजार, भीमबहादुर नेपालीले ४ लाख ५० हजार, कृष्णजी दाहालले ३ लाख ५० हजार पाउने गरी सहमति भएको भन्दै मिलापत्रका लागि निवेदन दिएका थिए ।

सहमतिबमोजिमको लिने/दिने बाँकी रकम प्रतिवादी विष्णु प्रपन्नाचार्य भन्ने विजय भण्डारीबाट पाइसकेका हुनाले कैद सजाय तथा जरिवाना मिनाहा गरी मुक्त गरिदिन भन्दै जाहेरवालाहरू र प्रतिवादी समेतले संयुक्तरूपमा निवेदन दिएपछि सर्वोच्चले कैद सजाय  छुट गरिदिएको पाइएको हो ।

यस्तो थियो जाहेरी र प्रपन्नाचार्यको स्विकारोक्ति

प्रतिवादी विष्णु प्रपन्नाचार्य भन्ने विजय भण्डारी समेतले जाहेरवालाहरूलाई धार्मिक कार्यक्रममा अमेरिका लैजान्छु भनेर १ करोड २७ लाख ६० हजार रुपैयाँ ठगी गरेको भन्दै प्रहरीमा जाहेरी परेको थियो ।

भण्डारीले ललाइफकाइ, जाल परिपञ्च गरी, झुक्क्याइ, धोका दिई, आपराधिक मनसायले सोचीसम्झी १ करोड २७ लाख ६० हजार रुपैयाँ ठगी गरेको जाहेरीमा उल्लेख थियो ।

सिर्जना कार्की, श्रीकृष्ण कार्की, नवराज कार्की, मित्रलाल भट्टराई, सुशील खत्री, गोकुल खनाल, शारदा थापा, शैलेश नेपाल, सुनिता गुरुङ मल्ल, भगवान कार्की, रोजिना कार्की, रवीन्द्र राहुल, छविलाल अर्याल, शलिकराम ढकाल, रविकुमार यादव, दिवाकर दाहाल, सुरेश दाहाल, अमृत दाहाल, जमुना अर्याल, धनमोहन शर्मा दाहाल, रामप्रसाद दाहाल, शशिकुमार डंगोल, सोमलाल लवट, श्रीमन पोखरेल, दीपक गिरी, सुशील चन्द, भीमबहादुर नेपाली, कृष्णजी दाहाल, गणेश श्रेष्ठ, स्वस्तिकला कामी, यादव भट्ट, सुरेन्द्र केसी, मुकुन्दराज तिवारीले जाहेरी दिएका थिए ।

जाहेरीसँगै जाहेरवालाबाट रकम लिई प्रतिवादी विजय भण्डारीले सहीछाप गरिदिएका रसिद तथा चेक समेत प्रमाणका रूपमा पेश भएको थियो । अनुसन्धान अधिकृत (प्रहरी)ले बयान लिँदा प्रतिवादी भण्डारीले रकम लिएको स्वीकार गरेका थिए ।

भागवतमा आचार्य अध्ययन गरी आफू समेतले ‘मानव कल्याण आध्यात्मिक परोपकार संघ नेपाल’ नामक संस्था दर्ता गरेर २०६८ बाट कलंकीमा कार्यालय समेत सञ्चालन गर्दै आएको भण्डारीले बयानमा खुलाएका थिए ।

‘देश/विदेशमा गरी १०८ स्थानमा कार्यक्रम गर्ने योजना रहेकोमा जाहेरवालाहरूले पनि धर्मका लागि विभिन्न देशमा जाने इच्छा प्रकट गरेकाले विदेशमा जान यातायात तथा भिसा शुल्कसमेत लाग्ने हुँदा मैले जाहेरवालाहरूसँग जाहेरीमा उल्लेखित रकम लिएको हो,’ भण्डारीले प्रहरीसमक्ष गरेको बयानमा उल्लेख छ ।

उक्त संस्थाको साधारण सभा हुन नसकी अन्य सदस्यले राजीनामा दिएकाले आफूले एकलरूपमा संस्था सञ्चालन गरेको उनले बयानमा खुलाएका थिए ।

भण्डारीले केही समयअघि पशुपतिनाथ मन्दिर परिसरमा कोटीहोम सञ्चालन गरेका थिए । त्यतिबेला पनि विवादमा आएका भण्डारी अहिले पोखरामा कोटीहोम गर्ने तयारीमा छन् । यसमा समेत उनका विभिन्न गतिविधिलाई लिएर विरोध भइरहेको छ ।

हेर्नुहोस्, सर्वोच्चको फैसला :

salt training

कमेन्ट गर्नुहोस्