२३ जेठ २०८३, शनिबार

भारतीय कांग्रेसका वरिष्ठ नेता भन्छन्- चीनलाई सम्मान गर्ने समय आएको छ, ऊ भारतको दुश्मन होइन

फागुन ५, २०८१
काठमाडौं
भारतीय कांग्रेसका वरिष्ठ नेता भन्छन्- चीनलाई सम्मान गर्ने समय आएको छ, ऊ भारतको दुश्मन होइन

भारतीय कांग्रेसका वरिष्ठ नेता तथा राहुल गान्धीका निकट सैम पित्रोदाले चीन भारतको दुश्मन नरहेको बताएका छन् । उनले चीनलाई चिन्नुपर्ने र सम्मान गर्नुपर्ने समय आएको समेत बताएका छन् ।

एक सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिने क्रममा उनले भारतले छिमेकी देश चीनलाई चिन्नु र सम्मान गर्नुपर्ने समय आएको बताएका हुन् । उनले चीनबाट हुने खतरा प्रायः आवश्यकता भन्दा बढी बढाइचढाइ गरेर प्रस्तुत गरिने समेत बताएका छन् ।

पित्रोदाले भारत-चीन सम्बन्धबारे आफ्नो धारणा व्यक्त गर्दै भारतले आफ्नो मानसिकता परिवर्तन गर्नुपर्ने बताएका हुन् । उनले चीनलाई सधैं दुश्मन ठान्ने धारणालाई त्याग्नुपर्ने उल्लेख गरे।

उनका अनुसार, भारतको दृष्टिकोण प्रायः टकरावपूर्ण रहँदै आएको छ, जसले दुश्मनीको भावना पैदा गर्छ। उनले भने, ‘हामीले सोच्ने तरिका बदल्नुपर्छ। यो आवश्यक छैन कि चीनलाई सधैं दुश्मनकै रूपमा हेर्नुपर्छ। यो धारणा चीनका लागि मात्र होइन, सबैका लागि परिवर्तन गर्न आवश्यक छ।’

पित्रोदाले भने, ‘मलाई थाहा छैन, चीनबाट वास्तविक खतरा के छ? मलाई लाग्छ, यो विषयलाई बारम्बार आवश्यकता भन्दा बढी उचाल्ने काम गरिन्छ, किनकि अमेरिकाले सधैं कुनै न कुनै दुश्मन खोज्नु पर्ने हुन्छ।’

कांग्रेस नेताले अब सबै देशहरू मिलेर काम गर्ने समय आएको पनि बताए। ‘हामीले सिक्न, संवाद बढाउन, सहकार्य गर्न र सँगै अघि बढ्न आवश्यक छ। ‘कमान्ड र कन्ट्रोल’ को मानसिकताबाट बाहिर आउनु जरूरी छ’, उनले थपे।

पित्रोदाले आफ्नो यो टिप्पणी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच हालै भएको भेटवार्तापछि गरेका हुन्। सो बैठकमा भारत-चीन सीमा तनावबारे छलफल भएको थियो।

फेब्रुअरी १३ मा संयुक्त पत्रकार सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले भारत र चीनबीचको तनाव समाधान गर्न मध्यस्थता गर्न प्रस्ताव राखेका थिए। यसले अमेरिका शान्ति स्थापनामा भूमिका खेल्न चाहेको संकेत दिएको थियो। तर, भारतले ट्रम्पको प्रस्ताव तत्काल अस्वीकार गर्‍यो।

भारतीय विदेश सचिव विक्रम मिस्रीले भनेका थिए, ‘हामी हाम्रा छिमेकीहरूसँग भएका कुनै पनि विवादलाई द्विपक्षीय माध्यमबाट समाधान गर्दै आएका छौं। भारत र चीनबीच पनि यही नीति लागू हुन्छ। हामी अघिसम्म पनि आपसी संवादबाट समस्याहरू हल गर्दै आएका छौं र आगामी दिनहरूमा पनि यही प्रक्रियालाई निरन्तरता दिनेछौं।’

salt training

कमेन्ट गर्नुहोस्