
मोटरसाइकल चोरी गरेको आरोपमा काठमाडौं प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङको गंगाजमुना गाउँपालिका-९ बस्ने २८ वर्षीय सुरज गुरुङ रहेका छन् ।
उनले गत माघ ११ गते राति काठमाडौं महानगरपालिका-१७ क्षेत्रपाटीस्थित एक होटल अगाडिबाट पार्किङ गरिराखेको ग १६ प १३२५ नम्बरको १६० सीसीको टीभीएस अपाचे मोटरसाइकल चोरी गरेको प्रहरीले जनाएको छ ।
गुरुङले वास्तविक नम्बरप्लेट परिवर्तन गरी प्रदेश ३-०२-०१२ प ७३७३ नम्बरको नम्बरप्लेट जडान गरी चलाउँदै आएको अवस्थामा यही फागुन २ गते साँझ साढे ७ बजेतिर नयाँबजार काठमाडौंबाट पक्राउ परेका हुन् ।
उनलाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई आवश्यक सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, एसपी अपिल राज बोहोराले जानकारी दिए ।