२१ असार २०८३, आइतबार

उडिसाको केआईआईटी विश्वविद्यालयमा नेपाली विद्यार्थीको मृत्युपछि तनाव, नेपालीलाई क्याम्पस छाड्न निर्देशन

फागुन ५, २०८१
काठमाडौं
उडिसाको केआईआईटी विश्वविद्यालयमा नेपाली विद्यार्थीको मृत्युपछि तनाव,  नेपालीलाई क्याम्पस छाड्न निर्देशन

भारत उडिसाको केआईआईटी विश्वविद्यालयमा एक नेपाली छात्राको मृत्युपछि क्याम्पसमा तनाव उत्पन्न भएको छ ।  विश्वविद्यालयमा बी टेक तेस्रो वर्षमा अध्ययनरत छात्रा  प्रकृति लम्साल आइतबार साँझ छात्रावास परिसरमा मृत भेटिएकी थिइन् । 

उनको मृत्युको कारण अझै पुष्टि भइसकेको छैन। यद्यपि, प्रारम्भिक अनुसन्धानअनुसार उनले आत्महत्या गरेकी हुन सक्ने आशंका गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

प्रकृतिको मृत्युपछि क्याम्पसमा रहेका नेपाली विद्यार्थीहरूले घटनाको निष्पक्ष अनुसन्धानको माग गर्दै प्रदर्शन गरेका थिए । उनीहरूले सडक अवरुद्ध गर्दै मृतकका पूर्वप्रेमीलाई पक्राउ गर्न समेत माग गरेका थिए । उनकै कारण प्रकृतिले आत्महत्या गरेको उनीहरूको आरोप छ । 

तनाव बढ्दै गएपछि केआईआईटी प्रशासनले नेपाली विद्यार्थीहरूलाई क्याम्पस छोड्न निर्देशन दिएको छ ।

विश्वविद्यालयले जारी गरेको सूचनामा भनिएको छ, ‘नेपालका सबै विद्यार्थीका लागि विश्वविद्यालय बन्द गरिएको छ। तसर्थ, उनीहरूलाई फेब्रुअरी १७ भित्र क्याम्पस खाली गर्न निर्देशन दिइन्छ ।’

विश्वविद्यालयका एक अधिकारीका अनुसार, मृतक छात्राको कोठा सिल गरिएको छ र शवलाई उनको परिवार आएसम्मका लागि शवगृहमा राखिएको छ।

यता सोमबार प्रहरीले लम्सालका पूर्वप्रेमी अद्विक श्रीवास्तवलाई पक्राउ गरेको छ। आरोपीलाई पक्राउ गरी सोधपुछ भइरहेको छ। 

श्रीवास्तवको मानसिक तनाव र दुर्व्यवहारबाट प्रकृति विक्षिप्त बनेकी उनका सहपाठीहरूको दाबी छ। 

आइतबार राति नेपाली विद्यार्थीहरूको ठूलो समूहले न्यायको माग गर्दै केआईआईटी परिसरमा प्रदर्शन गरेका थिए। स्थिति नियन्त्रणमा राख्न दुई वटा प्रहरी टोली परिचालन गरिएको थियो। विश्वविद्यालयका सुरक्षा गार्डले प्रदर्शनकारी नेपाली विद्यार्थीलाई कुटपिट गरेको बताइएको छ । 

विश्वविद्यालयले घटनालाई ढाकछोप गर्न खोजेको नेपाली विद्यार्थीको आरोप छ । प्रकृतिले एक महिना अगाडि अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयमा मानसिक तनाव र दुर्व्यवहारबारे उजुरी दिएको एक नेपाली विद्यार्थीले बताए । 

salt training

कमेन्ट गर्नुहोस्