२२ असार २०८३, सोमबार
प्रहरी युनिटमा मुद्दाको चाप

प्रहरीका युनिटमा दैनिक १६२ मुद्दा दर्ता, कति छन् अनुसन्धान अधिकृत ?

पुससम्म ठगीका मात्रै १० हजार ३३७ मुद्दा दर्ता
फागुन ५, २०८१
काठमाडौं
प्रहरीका युनिटमा दैनिक १६२ मुद्दा दर्ता, कति छन् अनुसन्धान अधिकृत ?

नेपाल प्रहरीमा अनुसन्धान अधिकृतहरूको (मुद्दा शाखामा कार्यरत) संख्या कम हुँदा कार्यसम्पादनमा असर परिरहेको छ । प्रहरीमा आउने मुद्दाको संख्या बढ्दै गएको तर, जनशक्ति त्यसअनुरूप नहुँदा प्रहरीको कार्यसम्पादनमा मात्र होइन सेवाग्राहीलाई पनि असर परिरहेको छ । प्रहरीका अनुसार हाल कूल जनशक्तिको ४.६ प्रतिशत मात्रै अनुसन्धान अधिकृतहरू छन् । 

नेपाल प्रहरीको कूल जनशक्ति ७९ हजार पाँच सय ४१ मध्ये तीन हजार सात सय ३५ जना मात्रै अनुसन्धान अधिकृत छन् । प्रहरीमा दुई सय २२ वटा मुद्दा चल्ने युनिट छन् । 

जसमा काठमाडौं, ललितपुर, भक्तपुर परिसरसबाहेक ७४ वटा जिल्ला प्रहरी कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरोसहित चार वटा ब्यूरो, आठ वटा वडा प्रहरी कार्यालय, १८ वटा प्रहरी वृत्त र एक सय १५ वटा इलाका प्रहरी कार्यालय छन् । 

प्रहरी प्रधान कार्यालयस्थित अपराध अनुसन्धान विभागका अनुसार औषतमा दैनिक देशभरका मुद्दा चल्ने प्रहरी युनिटले १६२ वटा मुद्दा दर्ता गर्छन् ।

विभागका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा मुद्दा दर्ता भएको तथ्यांक हेर्दा काठमाडौंसहित १० जिल्लामा धेरै चाप देखिएको छ । काठमाडौंमा मात्रै १२ हजार ८७२ वटा मुद्दा दर्ता भएका छन् । काठमाडौंपछि मोरङमा दुई हजार ४०६, सुनसरीमा दुई हजार ३४१, कास्कीमा दुई हजार १३४, झापामा दुई हजार ८२, ललितपुरमा दुई हजार ९, रुपन्देहीमा एक हजार ८५७, पर्सामा एक हजार ७८१, भक्तपुरमा एक हजार ६६७ र कैलालीमा एक हजार ७३३ वटा मुद्दा दर्ता भएका छन् । सबैभन्दा कम हुम्लामा १७, डोल्पामा १६ र मनाङमा ५ वटा मुद्दा दर्ता भएको विभागले जनाएको छ । 

विभागले सोमबार पत्रकार सम्मेलन गर्दै देशभरका प्रहरी युनिटमा दर्ता भएका अपराधका घटना र मुद्दाका बारेमा जानकारी गराएको छ । पत्रकार सम्मेलनमा विभागका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) कुवेर कडायतले भने,‘मुद्दाको चाप धेरै छ, अनुसन्धान अधिकृत कम छन् ।’

गत आर्थिक वर्षमा सबैभन्दा धेरै बैंकिङ कसुरका घटना प्रहरीमा दर्ता भएका छन् । बैंकिङ कसुरका १३ हजार २६३ वटा घटना दर्ता भएको विभागको तथ्यांक छ । विगतमा सार्वजनिक अपराध (हाल सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको अपराध)का घटना धेरै हुन्थे । तर, अहिले आर्थिक अपराध अन्तर्गत बैंकिङ कसुरका बढी घटना प्रहरीमा दर्ता भएको देखिन्छ । 

सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको अपराधका १० हजार ७५६ वटा घटना प्रहरीमा दर्ता भएको विभागले जनाएको छ ।

यो आर्थिक वर्षको पुससम्ममा मात्रै बैंकिङ कसुरका ६ हजार ५२९ वटा घटना प्रहरीमा दर्ता भएका छन् । विभागका अनुसार ठगीका घटना बढिरहेका छन् । गत आर्थिक वर्षमा ९ हजार ४३६ वटा मुद्दा दर्ता भएका थिए । यो आर्थिक वर्षको पुससम्ममा मात्रै १० हजार ३३७ वटा मुद्दा दर्ता भएका छन् । 

‘पछिल्ला दिनमा बैंकिङ कसुर, क्रिप्टोकरेन्सी, साइबर अपराध, अनलाइन ठगी, हनिट्रयाप, अनलाइन जुवा जस्ता अपराध बढ्दै गएका छन्’, एआईजी कडायतले भने, ‘यस्ता अपराध न्यूनिकरणमा धेरै चुनौतीहरू छन् ।’ 

salt training

कमेन्ट गर्नुहोस्