२६ असार २०८३, शुक्रबार

बुधबार नवौं निर्वाचन दिवस मनाइँदै, थप क्रियाशील हुने प्रमुख आयुक्तको प्रतिबद्धता

फागुन ६, २०८१
काठमाडौं
बुधबार नवौं निर्वाचन दिवस मनाइँदै, थप क्रियाशील हुने प्रमुख आयुक्तको प्रतिबद्धता

नेपालमा आमनिर्वाचन प्रारम्भ भई बालिग नेपालीले आफ्नो मताधिकार उपयोग गर्न पाएको महत्त्वपूर्ण दिनको सम्झनामा बुधबार नवौं निर्वाचन दिवस मनाइँदैछ । मुलुकमा प्रजातन्त्र स्थापनाको आठ वर्षपछि २०१५ फागुन ७ गते आमनिर्वाचन भएको थियो । 

संवैधानिक अङ्गका रूपमा रहेको निर्वाचन आयोगले स्थानीय तहदेखि राष्ट्रपतिसम्मको निर्वाचन गराउँदै आएको छ । आयोगले वर्तमान संविधान जारी भएपछि दुई पटक प्रतिनिधिसभा तथा प्रदेशसभा र स्थानीय तहको आवधिक निर्वाचन, तीन पटक राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन, राष्ट्रियसभा सदस्यको विभिन्न निर्वाचन र उपनिर्वाचन सम्पन्न गरिसकेको छ ।   

उक्त निर्वाचनमार्फत् जनप्रतिनिधि निर्वाचित भई जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक संघीय शासन प्रणालीको सुदृढीकरणमा महत्त्वपूर्ण भूमिका निर्वाह भइरहेको छ । इतिहासका सबै कालखण्ड र राजनीतिक परिवर्तनका हरेक नयाँ उपलब्धिमा मुलुकले अङ्गीकार गरेको शासन व्यवस्था र निर्वाचन प्रणालीलाई संविधान र कानून बमोजिम निर्वाचनको माध्यमबाट वैधानिकता प्रदान गर्ने संवैधानिक दायित्व पूरा गर्दै आइरहेको छ । 

यसवर्ष ‘निर्वाचनको प्रभावकारिता : आमनागरिकको सहभागिता’ भन्ने मूल नाराका साथ आयोगले बुधबार कान्तिपथस्थित आयोग परिसरमा मूल समारोह आयोजना गर्दै छ । 

दिवसका अवसरमा शुभकामना दिँदै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संवैधानिक एवं कानूनी दायित्व पूरा गर्न आयोग थप क्रियाशील हुने प्रतिबद्धता व्यक्त गरेका छन् । 

प्रमुख आयुक्त थपलियाले असल अन्तर्राष्ट्रिय अभ्यासको समेत अनुशरण गर्दै नेपालको वर्तमान निर्वाचन प्रणाली र प्रक्रियालाई थप प्रभावकारी बनाउन दृढ संकल्पित रहेको स्पष्ट पारेका छन् ।

प्रमुख आयुक्त थपलियाले निर्वाचन सम्पन्न गराउन राजनीतिक नेतृत्व, राष्ट्रसेवक कर्मचारी, नागरिक समाज, गैरसरकारी एवं निजी क्षेत्र, नेपालस्थित कूटनीतिक नियोग, पर्यवेक्षकलगायत निर्वाचनका क्षेत्रमा क्रियाशील निकाय एवं व्यक्ति, सञ्चार जगत र आम नागरिकप्रति कृतज्ञता ज्ञापन गरेका छन् । 

आयोगले निर्वाचनमा आम नागरिकको सहभागिता अभिवृद्धि गर्न स्थानीय तहसँगको सहकार्यमा मतदाताको घर आँगनसम्म नै निर्वाचन तथा मतदाता शिक्षाका कार्यलाई सघन र प्रभावकारी बनाउँदै लैजाने जनाएको छ । 

सरोकारवालाबाट प्राप्त सहयोग, शुभेच्छा र सद्‌भावले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन व्यवस्थापन गर्ने आयोगको संवैधानिक जिम्मेवारी अझै सशक्त, व्यवस्थित, पारदर्शी र प्रभावकारी रूपमा निर्वाह गर्न हौसला र प्रेरणा प्राप्त भएको आयोगको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्