
प्रसिद्ध तीर्थस्थल पाथीभरामा चाँडै केबलकार निर्माणको मागसिहत ताप्लेजुङमा नागरिक सद्भाव र्याली निकालिएको छ ।
ताप्लेजुङको विकास, समृद्धि र पहिचानका लागि भन्दै ताप्लेजुङ विकासप्रेमी युवा समाजको अगुवाइमा मंगलबार सदरमुकाम फुङलिङमा बृहत नागरिक सद्भाव र्याली निकालिएको हो । उनीहरूले पाथीभरामा सकेसम्म चाँडै केबलकार निर्माण सक्नुपर्ने माग राखेका छन् ।
र्याली नगर परिक्रमा गर्दै वीरेन्द्रचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । र्यालीमा सहभागीले ‘वृद्ध–वृद्धा के भन्छन्, केबलकार ले भन्छन्,अशक्तहरू के भन्छन्, केबलकार ले भन्छन्’ जस्ता नारा लगाएका थिए । सद्भाव र्यालीमा नौमती बाजा र च्याब्रुङ लगायत विभिन्न जातजाति र समुदायको संस्कृति झल्कने झाँकी पनि प्रदर्शन गरिएको थियो ।
फुङलिङ नगरप्रमुख अमिर मादेनसहित नगरक्षेत्रका जनप्रतिनिधि समेत र्यालीमा सहभागी भएका थिए । उद्योगी, व्यवसायी र नागरिक समाजका अगुवा र्यालीमा स्वत:स्फूर्त रूपमा सहभागी भएको नगरप्रमुख मादेनले जानकारी दिए । र्यालीमा सयौं ताप्लेजुङवासीको सहभागिता रहेको उनको भनाइ छ ।
पाथीभरामा निजी क्षेत्रबाट केबलकार निर्माण गर्न शिलान्यास समेत भइसकेको छ । केबलकार निर्माणका विषयमा केही समूहले विरोध गरेपनि ताप्लेजुङवासीले भने निर्माणको माग राख्दै र्याली नै निकाल्नुपरेको हो ।
विवादका कारण विकास निर्माणको काम रोकिँदा त्यसको प्रत्यक्ष असर लगानी र रोजगारीमा पर्ने उनीहरूको चिन्ता छ ।
पाथीभरा देवी दर्शन गर्न स्वदेश तथा विदेशबाट आउने हजारौं–लाखौं तीर्थयात्रीको सहज आवागमनका लागि केबलकार निर्माण चाँडै सक्नुपर्ने र्यालीमा सहभागी ताप्लेजुङवासीको माग छ । जिल्लाको विकासमा सबै एकजुट हुनुपर्ने सन्देश दिन सद्भाव र्याली निकालिएको उनीहरूको भनाइ छ ।