०७ असार २०८३, आइतबार

चित्रबहादुरको नजरमा त्यो चुनाव, यो चुनाव, सुनाए २४ सयको रोचक 'कथा'

मंसिर ७, २०७४
चित्रबहादुरको नजरमा त्यो चुनाव, यो चुनाव, सुनाए २४ सयको रोचक 'कथा'

प्युठान, ७ मङ्सिर- हटिया बजारबाट पश्चिम दरम खोला पुल तरेपछि सडकछेउ टंक केसीको घर छ । यो घरमा अहिले मान्छेहरूको भेटघाट र आवतजावत बाक्लो छ । किनभने चुनावका लागि गाउँ छिरेका ‘माइला बा’ को बसोबास यही घरमा छ । भेटघाट गर्न आउनेलाई केही समय रोकेर गाउँलेका ‘माइला बा’ अर्थात् चित्रबहादुर केसी विगत र अहिलेको चुनावी अनुभव साट्न तयार भए ।

विगतमा तीनवटा चुनावमा प्रत्यक्ष प्रतिस्पर्धा गरेका केसी अहिलेको खर्चिलो र भड्किलो चुनाव शैलीबाट दिक्क छन् । चुनावी अनुभवको पन्तुरो उनले यसरी खोले कि जुन अहिलेका उम्मेदवारका लागि कथाजस्तो लाग्छ । 

कान्तिपुर दैनिक लेख्छ- २०५१ सालको चुनाव हारेपछि केसी ०५६ मा पुन: उम्मेदवार बन्ने भए । चुनाव नजिकिँदै जाँदा उनलाई केही खर्च लाग्ने हो कि भन्ने चिन्ता थियो । उनले कार्यकर्तासँग सोधे, ‘पैसा चाहिन्छ ?’ ‘चाहिँदैन, खल्तीमा २४ सयजति चाहिँ सधैं राख्नुहोस्, त्यति भए पुग्छ,’ शुभेच्छुकले सुझाव दिए, ‘यसो तपाईंलाई भेट्न कोही मान्छे आउन सक्छन्, चिया खुवाउनुपर्ने हुन सक्छ, त्यसका लागि पैसा चाहिन्छ ।’ शुभेच्छुकहरूको सुझावअनुसार उनी २४ सय रुपैयाँ खल्तीमा राखेर चुनावी दौडमा निस्किए । उनले चुनाव जिते ।

पार्टीमा चुनावी खर्चको समीक्षा भयो । ‘यसो हेरेको त मेरो खल्तीको २४ सय रुपैयाँ त जस्ताको तस्तै रहेछ,’ केसीले सुनाए, ‘केही खर्च नै गर्नुपरेन, केमा खर्च गर्ने मैले ठाउँ नै पाइनँ ।’ समीक्षा बैठकमा केसीले आफ्नो खल्तीको पैसा जस्ताको तस्तै रहेको सुनाउँदा सहयोद्धाहरूले ‘त्यति पैसा पनि खर्च नगरी चुनाव जितेको’ भन्दै अचम्म माने । एक जनाले त ठट्टा पनि गरे, ‘त्यत्रो चुनाव जित्दा त्यति पनि खर्च नगरेको !’ 

‘त्यसबेला मतदाता, कार्यकर्ता इमानदार, अनुशासित थिए, भड्किला थिएनन्,’ विगतसँग अहिलेको तुलना गर्दै केसीले भने, ‘अहिले त कुनै सभामा जानुपर्‍यो भने गाडी नभई हुँदैन, गाडी छ जाऔं भन्दा पनि सडकसम्म ओर्लिन पनि नमान्ने खालको अवस्था भइसकेको छ ।’ चुनावमा ‘खान्तेपिन्ते’ बढी चल्न थालेको छ । 

कच्ची नै भए पनि सबैजसो गाउँमा बाटो पुगेको छ । हिँड्ने कष्ट गर्न कोही चाहँदैन । गाडीको लावालस्कर जसले अघिपछि लगायो, त्यही प्रभावशाली जस्तो देखिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्