२४ जेठ २०८३, आइतबार

सूचनामा नागरिकको पहुँच बढाउन नियमित भिडियो ब्रिफिङ गर्ने स्वास्थ्य मन्त्रालयको तयारी

फागुन ८, २०८१
काठमाडौं
सूचनामा नागरिकको पहुँच बढाउन नियमित भिडियो ब्रिफिङ गर्ने स्वास्थ्य मन्त्रालयको तयारी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित रूपमा गतिविधिको भिडियो ब्रिफिङ गर्ने भएको छ । 

मन्त्रालयले भोलि शुक्रबारदेखि हरेक साता दिउँसो १ :३० बजे गतिविधिको भिडियो ब्रिफिङ गर्ने भएको हो । साताभर मन्त्रालयबाट भएका नीतिगत परिवर्तनका निर्णय, गतिविधि तथा स्वास्थ्य क्षेत्रका जानकारी समेटेर साप्ताहिक ब्रिफिङ गर्ने निर्णय गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रालय तथा स्वास्थ्य सम्बन्धी गतिविधि र सूचना नागरिकले बढीभन्दा बढी थाहा पाउने व्यवस्था मिलाउन भनेका थिए । यसअघि मन्त्री पौडेलले नागरिकका गुनासा सम्बोधन गर्न हेल्लो स्वास्थ्य सञ्चालन गर्न गरेको निर्णय कार्यान्वयनमा आइसकेको छ । 

हेल्लो स्वास्थ्यले निःशुल्क हटलाइन नम्बर १११५, सामाजिक सञ्जाल तथा इमेलबाटसमेत नागरिकका गुनासा लिएर सम्बोधन गर्दै आइरहेको छ । यसैक्रममा नागरिकको सूचना पहुँच वृद्धि गर्न भिडियो ब्रिफिङ शुरूआत गर्न लागिएको हो ।

‘साताभरका गतिविधि भिडियोमार्फत् पस्कँदा प्रभावकारी हुने निष्कर्षसहित नियमित ब्रिफिङको तयारी गरेका हौं’, उनले भने, ‘भोलि शुरूआत हुनेछ ।’

मन्त्रालयले सञ्चारमाध्यमका अलावा सामाजिक सञ्जालबाटसमेत यस्ता गतिविधि नियमित प्रसार गर्ने तयारी गरेको छ । यसअघि कोभिडका समयमा आवश्यक सूचना यसैगरी नियमति दिने गरिए पनि पछि रोकिएको थियो । हाल मन्त्रालयले प्रेस विज्ञप्तिका अलावा सामाजिक सञ्जालमार्फतसमेत सूचना र जानकारी प्रेषण गर्दै आइरहेको छ ।

स्वास्थ्य क्षेत्रमा भइरहेका काम, स्वास्थ्य सम्बन्धमा आवश्यक सूचना आदि नागरिकलाई नियमित रूपमा जानकारी गराउन भिडियो ब्रिफिङ शुरूआत गर्न लागिएको मन्त्री पौडेलको निजी सचिवालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्