०३ असार २०८३, बुधबार

पाथीभरा क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच झडप, १३ जना घाइते

फागुन ८, २०८१
विराटनगर
पाथीभरा क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच झडप, १३ जना घाइते

ताप्लेजुङको पाथीभरा क्षेत्रमा फेरि दोहोरो झडप भएको छ । ‘नो केबलकार समूह’ र प्रहरीबीच बिहीबार झडप भएको हो ।  प्रदर्शनकारीले प्रहरीलाई ढुंगामुढा गरेपछि झडप भएको हो । 

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले क्षमा पूजाको नाममा राजेन्द्र महतो, रकम चेम्जोङ, डकेन्द्र थेगिम, राम मादेन, प्रेम एक्तेन, चन्द्र मादेनसहितका व्यक्तिहरू त्यहाँ पुगेका थिए । 

‘उहाँहरूले केही समय भाषण गर्नुभयो । करिब ३ बजेतिर सुरक्षा निकायले राखेको घेरा तोडेर ढुंगामुढा हान्नु भयो । ५० मिटरको दूरी पनि नराखी ढुंगा हान्नुभयो । त्यसपछि हामीले पानीको फोहोरा र अश्रुग्याँस हान्नुपर्ने अवस्था आयो’, प्रमुख जिल्ला अधिकारी शर्माले भने, ‘त्यसक्रममा नेपाल प्रहरीका ६ जना, सशस्त्र प्रहरीका ५ जना र नो केबलकार समूहका १ जना घाइते भएको कुरा आएको छ ।’

आन्दोलनकारीले सशस्त्र प्रहरीले प्रयोग गरेका सेफ्टी ढाल ५ वटा र मेगा फोन १ वटामा पूर्ण क्षति गराएको शर्माले बताए । निर्माणस्थलमा सुरक्षाकर्मीले राखेको ‘नो इन्ट्री बाउन्ड्री’मै पुगेर उनीहरूले भाषण गरेका थिए । 

झडपपछि नेपाल प्रहरीले २ राउण्ड अश्रुग्याँस प्रहार गरेको र सशस्त्र प्रहरीले पनि भीडलाई नियन्त्रण लिन थप अश्रुग्याँस प्रहार गरेको ताप्लेजुङ प्रहरी प्रमुख, डीएसपी रवि बरालले बताए । 

ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी सन्दिपा खड्काका अनुसार घाइते सबैको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक रहेको खबर आएको खड्काले बताइन् ।

salt training

कमेन्ट गर्नुहोस्