
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल निर्धारित समय अगावै ग्रे लिष्टबाट बाहिर निस्कने बताएका छन् ।
फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटिएफ) ले नेपाललाई ग्रे लिष्टमा राखेपछि शुक्रबार सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।
उनले भने, 'विगतमा निर्धारित समयमा निर्धारित काम सम्पन्न गर्न नसक्दा यो परिस्थिति निर्माण भएको हो । पेरिस बैठकबाट नेपालको एक्सन प्लान स्वीकृत भएको छ । एक्सन प्लान अनुसार प्रभावकारी रुपमा काम गरेर हामी निर्धारित समय अगावै ग्रे लिष्टबाट बाहिर निस्कन्छौं ।'
वित्तीय अपराध, सम्पत्ति शुद्धीकरण, सहकारी समस्या र कानून कार्यान्वयनमा उदासीनता जस्ता विषयले नेपाल सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’मा परेको हो ।
दुई वर्षअघि फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को एसिया प्यासिफिक ग्रूप (एपीजी) को पारस्परिक मूल्यांकन प्रतिवेदन (एमईआर) ले दिएका सुझाव नेपालले कार्यान्वयन नगरेको कारण देखाउँदै ग्रे लिस्टमा राखिएको प्रधानमन्त्री कार्यालयका एक अधिकारीले लोकान्तरलाई बताए ।