
तीन वर्षदेखि जारी रुस-युक्रेन युद्धको समाधानका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच महत्त्वपूर्ण खनिज पदार्थहरूको पहुँचसम्बन्धी सम्झौता हुने भएको छ । लामो वार्ताले निष्कर्ष दिन नसकेपछि उत्पन्न तनावपूर्ण वातावरणबीच दुई देशबीच यस्तो सम्झौता हुन लागेको हो ।
शुक्रबार राति एक सम्बोधन गर्दै राष्ट्रपति जेलेन्स्कीले भनेका छन्, ‘यो सम्झौताले हाम्रो सम्बन्धलाई बलियो बनाउन सक्छ । मुख्य कुरा यसको प्रभावकारिता कसरी हुन्छ त्यसमा ध्यान दिनु हो । म न्यायोचित परिणामको अपेक्षा गर्दछु ।’
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि छिट्टै सम्झौतामा हस्ताक्षर हुने दाबी गरेका छन् । ह्वाइट हाउसस्थित आफ्नो कार्यालयमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले यसको पुष्टि गरेका छन् । ‘हामी छिट्टै एउटा सम्झौतामा हस्ताक्षर गर्दैछौं’, उनले भने ।
वाल स्ट्रिट जर्नलका अनुसार वार्तामा संलग्न स्रोतहरूले शनिबारसम्ममा सम्झौता हुन सक्ने जनाएका छन् ।
तनावपूर्ण वार्ताका क्रममा विभिन्न चरणमा तनाव देखिएको थियो । अमेरिकी ट्रेजरी सचिव स्कट बेसेन्टले फेब्रुअरी १२ मा पहिलो प्रस्ताव राख्दा जेलेन्स्कीको व्यवहार ‘अशिष्ट’ भएको ट्रम्पले आरोप लगाएका थिए ।
त्यसको दुई दिनपछि म्युनिखमा सिनेटर जेडी भान्स र मार्को रुबियोसँगको भेटमा जेलेन्स्कीले आफू एक्लैले योबारे सम्झौता गर्न नसक्ने बताएका थिए ।
फेब्रुअरी १५ मा जेलेन्स्कीले सार्वजनिक रूपमै सम्झौतालाई अस्वीकार गर्दै भनेका थिए, ‘यो सार्वभौम युक्रेनको हितमा छैन ।’
साउदी अरबमा भएको अमेरिका-रुस वार्तामा आफूलाई नसमेटिएको भन्दै उनले आक्रोश व्यक्त गरेका थिए । त्यसको जवाफमा राष्ट्रपति ट्रम्पले युक्रेनमा जेलेन्स्कीको समर्थन ४ प्रतिशत रहेको भन्दै जेलेन्स्कीलाई अधिनायकवादीको संज्ञा दिएका थिए ।
गत बुधबार ट्रम्पले सामाजिक सञ्जाल ट्रुथमा लेख्दै जेलेन्स्कीलाई ‘तानाशाह’ भनेका थिए । दुवै नेताबीच कटुतापूर्ण सम्बन्ध विकसित भएपछि रिटायर्ड लेफ्टिनेन्ट जनरल किथ केलगले मध्यस्थता गरे । त्यसपछि अवस्था सामान्य बनेको डेली मेलले जनाएको छ ।
बिहीबार युक्रेनको राजधानी किभमा केलगसँगको भेटपछि जेलेन्स्कीले भने, ‘उहाँको कामले आशा जगाएको छ । मैले छिटो र बुद्धिमत्तापूर्ण काम गर्न निर्देशन दिएको छु ।’
खनिज सम्पदाको महत्त्व
युक्रेनसँग युरोपकै सबैभन्दा ठूलो टाइटानियम भण्डार रहेको दाबी गरिएको छ, जसको प्रयोग विमान र नौसेना जहाजका लागि मिश्रित धातु उत्पादनमा हुन्छ ।
त्यस्तै, विद्युतीय सवारी साधनका ब्याट्रीका लागि अत्यावश्यक लिथियम पनि युक्रेनमा प्रशस्त मात्रामा पाइन्छ । उच्च प्राविधिक उद्योग, रक्षा र स्वच्छ ऊर्जाका लागि आवश्यक दुर्लभ खनिजहरू पनि युक्रेनमा छन् ।
रिपब्लिकन सिनेटर लिन्डसे ग्राहमले भने, ‘युक्रेनको खनिज सम्पदाले अमेरिकालाई चीनमाथिको निर्भरता घटाउन मद्दत गर्नेछ । युक्रेनसँगको आर्थिक साझेदारीले अमेरिकालाई बलियो बनाउनेछ र युक्रेनको आर्थिक पुनर्निर्माणलाई गति दिनेछ ।’
चुनौती र आशंका
एक वरिष्ठ युक्रेनी अधिकारीको भनाइ उदृत गर्दै फाइनान्सियल टाइम्सले लेखेको छ, ‘जब हामीले विवरणहरू हेर्यौं, त्यहाँ भविष्यको अमेरिकी सुरक्षा ग्यारेन्टीबारे केही थिएन । युक्रेनमाथि अमेरिकी साथ र समर्थन हुने हो भने अमेरिकाले आफ्नो रक्षा स्वार्थ हेर्ने कुरा अन्यथा होइन ।’
अर्का युक्रेनी अधिकारीले भने यसको विरोध गरेका छन् । उनको भनाइ उदृत गर्दै टेलिग्राफले लेखेको छ, ‘सम्झौतामा पहिले हामीलाई हामीले गरेको सहयोग फिर्ता दिनुस्, त्यसपछि मात्र आफ्ना बालबालिकालाई खुवाउनुहोस् भन्ने प्रावधान छ । यो युक्रेनका लागि स्वीकार्य हुन सक्ने सम्झौता होइन ।’
युद्धका कारण युक्रेनमा धेरै कम्पनीहरूले आफ्ना गतिविधि रोकेका छन् । उत्खनन् विश्लेषक र विभिन्न अर्थशास्त्रीका अनुसार हाल युक्रेनमा व्यावसायिक रूपमा सञ्चालित दुर्लभ खनिज खानी छैनन् । युद्धग्रस्त ती उद्योग पुनः शुरू गर्ने जोखिम मोल्न कम्पनीहरू पुनः तयार हुनुपर्नेछ ।
केही महत्त्वपूर्ण खनिज भण्डार हाल रुसी नियन्त्रणमा रहेका पूर्वी औद्योगिक क्षेत्रमा अवस्थित छन् । जेलेन्स्कीले पत्रकारलाई देखाएको नक्सामा लगभग आधा खनिज भण्डार वर्तमान फ्रन्टलाइनको रुसी पक्षमा रहेको देखिन्छ । तर, मध्य युक्रेनमा पनि ठूलो मात्रामा महत्त्वपूर्ण स्रोत रहेका छन् ।
सम्झौताको सफलताका लागि अमेरिकी दूत केलगको भूमिका महत्त्वपूर्ण मानिएको छ । युक्रेनी सरकारी स्रोतहरूका अनुसार केलगले जेलेन्स्कीको प्रशंसा गर्दै किभमा तीन दिन बिताएर सम्झौता सम्भव बनाएका हुन् ।
यो सम्झौताले युक्रेन युद्धको समाधान र दुई देशबीचको आर्थिक सहकार्यको नयाँ अध्याय शुरू गर्ने अपेक्षा गरिएको छ । अमेरिका र युक्रेनबीच यस्तो सम्झौता भएपछि रुसले कस्तो कदम चाल्नेछ भन्नेबारे विभिन्न बहस र अड्कलबाजी भएका छन् ।