
लुम्बिनी प्रदेश स्तरीय ललितकला प्रदर्शनी बुटवलमा शुरू भएको छ ।
प्रदर्शनीको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवलमा आयोजित प्रदर्शनीको उद्घाटन गरेका हुन् ।
चित्र, मुर्ति, लोक कलामार्फत लुम्बिनीलाई चिनाउन खोजिएको छ ।
प्रदर्शनीमा प्रदेशका १२ जिल्लाका कलाकारहरूले निर्माण गरेका आकृतिहरू राखिएका छन् । १२३ जना कलाकारका १८० कलाकृति प्रदर्शनीमा छन् ।
लुम्बिनी प्रदेश ललितकलाका लागि उर्वर भूमि भएको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले कला, संस्कृति, भाषा, साहित्य तथा सिर्जनाको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनबाट समृद्ध प्रदेश निर्माण गर्न सकिने बताए ।
‘लुम्बिनीको माटोबाट बुद्धको मूर्ति निर्माण गरी विश्व बजारसम्म पुर्याउन सकिन्छ । कलाकृति र सीपहरू नयाँ पुस्तामा हस्तान्तरण गर्नु जरुरी छ,’ उनले भने ।
ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले अनुसन्धान, सिर्जना र सम्मानलाई प्राथमिकतामा राखिएको बताए ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा शुरू भएको प्रदर्शनी फागुन १४ गतेसम्म चल्ने छ ।