काठमाडौं, ७ मंसिर — आजकल सेल्फी लिने चलन बढेर गएको छ । सेल्फीकै लागि भनेर स्मार्टफोनमा छुट्टै क्यामराहरू राख्न थालिएका छन् ।
हलिउडकी प्रसिद्ध सोसियलाइट पेरिस हिल्टनले हालै ट्वीट गर्दै सन् २००६ मा उनले गायिका ब्रिट्नी स्पीयर्ससँग सबभन्दा पहिले सेल्फी खिचेको लेखिन् । आफू दुईले ११ वर्षअघि सेल्फीको आविष्कार गरेको उनको दाबी छ ।
तर इतिहास पल्टाउँदा थाहा हुन्छ, सेल्फी त सय वर्षअघि नै लिइएको थियो ।
सबभन्दा पुरानो सेल्फी सन् १८३९ मा रोबर्ट कोर्नेलुईसले लिएका थिए । त्यसबेलाको प्रविधिको हिसाब गर्दा रोबर्टले सेल्फीका लागि कमसेकम १५ मिनेट एउटै पोजमा उभिएको हुनुपर्छ ।
सन् १९१४ मा रुसको अनास्तासियाले १३ वर्षको उमेरमा सेल्फी खिचेका थिए । उनले सेल्फीका विषयमा पितालाई एक पत्र लेखे, ‘मैले शीशामा हेर्दै आफ्नो तस्वीर आफैं खिचें । यो अप्ठ्यारो काम थियो किनकि मेरा हातहरू काँपिरहेका थिए ।’
न्युयोर्कका जोसेफ बायरोनले सन् १९२० का साथीहरूसँग मिलेर छतमा ग्रूप सेल्फी लिए । त्यो बेलामा क्यामरा ठूलो र भारी हुनाले दुईजनाले त्यसलाई सम्हाल्नुपरेको थियो ।
सन् १९६६ मा २३ वर्षीय एक युवकले ताजमहलमा सेल्फी लिए ।
मानिसबाहेक जनावरले पनि सेल्फी लिने गरेका छन् । सन् २०११ मा क्यामराम्यान डेभिड स्लेटरको क्यामराबाट मकाव नामक जनावरले सेल्फी लिए । यो तस्वीरको मालिक को हो भन्ने विषय अदालतमा पुगेको थियो ।
सन् २०१३ मा सेल्फी शब्द अक्सफोर्ड डिक्सनरीमा वर्ड अफ द इयरका रूपमा संलग्न थिए ।
सन् २०१४ मा हलिउड स्टारहरूको ग्रूप सेल्फी सबभन्दा बढीचोटि शेयर गरिएको थियो ।
एजेन्सी