
भारतको सेवर सेन्ट्रल जेलमा एक जना यस्ता कैदी छन् जसको हर्कतले प्रशासन हैरान बनेको छ ।
सुखदेव सिंह गोगामेडीको हत्या घटनामा सजाय भुक्तानीका लागि जेल परेका रोहित राठोडले प्रशासनले परेसान बनाएका छन् । उनी विभिन्न बहानामा पटकपटक जेलभित्रै अनशन बस्ने गरेका छन् ।
उनको यो हर्क यसपटक पनि दोहोरियो । प्रशासनको पहलपछि उनले यसपटक २२ दिन लामो अनशन तोडेका छन्। ३१ जनवरीदेखि आफूलाई अर्को जेलमा सार्नुपर्ने माग राखेर अनशन बसेका रोहितलाई प्रशासनको पहलपछि जुस खुवाएर अनशन तोडाइएको हो।
जेल सुपरिटेन्डेन्ट परमजीत सिंहका अनुसार रोहितले जयपुर, अजमेर वा कुनै अन्य जेलमा सार्नुपर्ने माग गरिरहेको थिए। अनशनका क्रममा उनको स्वास्थ्य धेरैपटक बिग्रियो, जसका कारण जेल प्रशासनले उनलाई ग्लुकोज चढाउनु परेको थियो।
रोहित अनशन बसेको यो पहिलो पटक होइन । सन् २०२४ को अगस्ट ९ मा पनि उनले यही माग राख्दै अनशन थालेका थिए। तर, अगस्ट १३ मा स्वास्थ्य अवस्था गम्भीर बनेपछि उनलाई उच्च सुरक्षासँगै आरबीएम अस्पताल लगिएको थियो।
अस्पतालमा समेत उनले उपचार लिन अस्वीकार गरेका थिए। अन्ततः अगस्ट १५ मा प्रशासनको पहलपछि उपचार गराउने सहमति जनाए र अगस्ट १६ मा फेरि जेल फर्काइएका थिए। अन्ततः अगस्ट २७ मा उनले अनशन तोडेका थिए।
सेवर जेल प्रशासन लगातार रोहितको अवस्थालाई नजिकबाट नियालिरहेको थियो। यसपटक पनि उनको स्वास्थ्य बिग्रिएपछि आवश्यक स्वास्थ्य सेवा प्रदान गरिएको थियो। अन्ततः २२ दिनपछि प्रशासनको पहलपछि रोहितले जुस खाएर अनशन तोडे।
रोहितको जेल स्थानान्तरणको मागबारे प्रशासनले के निर्णय लिन्छ भन्ने हेर्न बाँकी छ। तर, हाललाई उनको अनशन समाप्त भएको छ।