
वाशिङ्टन । ट्रम्प प्रशासनले शनिबार बेलुकी अमेरिकी संघीय सरकारका कर्मचारीहरूलाई इमेल पठाएर अघिल्लो हप्ता गरेका कामहरूको विवरण सोमबार रातिसम्म पेश गर्न निर्देशन दिएको छ। यस निर्देशनको पालना नगरे जागिर गुम्न सक्ने चेतावनी दिइएको छ।
यो इमेल पठाइएका केही घण्टापछि अर्बपति तथा ट्रम्प प्रशासनअन्तर्गत सरकार दक्षता विभागका एलोन मस्कले इमेलको जवाफ नदिए जागिरबाट राजीनामा दिएको मानिने घोषणा गरेका छन् ।
'सबै संघीय कर्मचारीहरूले चाँडै एउटा इमेल प्राप्त गर्नेछन्, जसमा उनीहरूले अघिल्लो हप्ता के-कस्ता काम गरे भनेर विवरण दिनुपर्नेछ,' मस्कले एक्समा भनेका छन्, 'इमेलको जवाफ नदिए जागिरबाट राजीनामा दिएको मानिनेछ।'
मस्कको यो पोस्ट राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा संघीय कर्मचारी संख्यालाई घटाउने तथा नयाँ संरचना तयार पार्ने दिशामा कडा कदम चाल्न निर्देशन दिएको भनि बताएको केही समयपछि आएको हो।
रोयटर्सका अनुसार कर्मचारीहरूलाई पाँच वटा मुख्य बुँदाहरूमा आफ्नो कामको विवरण पठाउन भनिएको छ र आफ्ना प्रबन्धकहरूलाई समेत प्रतिलिपि पठाउन निर्देशन दिइएको छ।
मस्कलाई संघीय कर्मचारीहरूलाई बर्खास्त गर्ने कानुनी अधिकार छ वा छैन भन्ने स्पष्ट छैन। साथै, गोप्य काम गरिरहेका कर्मचारीहरूले आफ्नो विवरण कसरी प्रस्तुत गर्ने भन्ने विषयमा अन्योल समेत रहेको समाचारमा उल्लेख छ ।