
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको फोटो दुरूपयोग गरेर सामाजिक सञ्जाल एक्स (ट्विटर) अकाउन्ट बनाएको पाइएको छ ।
त्यसरी बनाइएको अकान्टबाट तथानाम पोस्ट हुन थालेपछि सर्वोच्च अदालतले फेक अकाउन्ट हटाउन साइबर ब्यूरोमा उजुरी दिएको छ ।
‘प्रधानन्यायाधीशज्यूको तस्वीर दुरुपयोग गरेर फेक अकाउन्ट बनाएको थाहा पाएपछि साइबर ब्यूरोमा निवेदन दिइएको छ, ब्यूरोले आवश्यक अनुसन्धान गरिरहेको जानकारी आएको छ’, सर्वोच्च स्रोतले लोकान्तरसँग भन्यो ।
प्रधानन्यायाधीश राउतको फोटो राखेर ‘एट सुप्रिमकोर्ट एनपी’ नामको अकाउन्ट बनाइएको छ । त्यसको नाम ‘मिस्टर प्रकाश नेपाल’ राखिएको छ । फोटोमा प्रधानन्यायाधीश राउतको तस्वीर राखिएको छ ।
पछिल्लो समय राजनीतिक दलका शीर्ष नेताको नाममा प्यारोडी अकाउन्ट खोलेर दुरुपयोग भइरहेका घटना सार्वजनिक भएका छन् । सर्वोच्चकै प्रधानन्यायाधीशको नाममा फेक अकाउन्ट खोलिएको यो पहिलो घटना हो ।
छद्म नामबाट नक्कली अकाउन्ट खोल्नेजस्ता प्रवृत्ति अन्त्य गर्न सरकारले सामाजिक सञ्जाल नियमन गर्ने विधेयक संसद्मा पेश गरेको छ ।