
नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले सहकारी ठगी र कृषि अनुदान दुरुपयोग गर्नेको पासपोर्ट जफत गर्नुपर्ने बताएका छन् । ठगिएका सहकारी पीडितको रकम फिर्ता गर्न न्यायिक आयोग गठन गर्नुपर्ने उनको भनाइ छ ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा कांग्रेस सांसद भण्डारीले सहकारी पीडितको बचत फिर्ताका लागि सरकारले तत्काल कदम चाल्नु पर्ने बताएका हुन् । ‘बचत फिर्ताको माग गर्दै सांसद र मन्त्रीको घरमा सहकारी पीडित धाइरहेका छन् । सहकारीको बचत दुरुपयोग गर्ने र कृषिको अनुदान खानेको पासपोर्ट र जग्गा प्रतिबन्ध नलगाइ बचत फिर्ता हुँदैन, यसका लागि न्यायिक आयोग गठन गर्न जरुरी छ,’ उनले भने ।
भण्डारीले स्वदेशमै डाक्टर र इन्जिनियर पढाउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए । ‘युक्रेन युद्धमा फसेका भारतीयलाई उद्धार पछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय युवाले अब डाक्टरी पढ्न विदेश जान पर्दैन भन्नु भएको थियो । नेपालमै डाक्टर र इन्जिनियरिङ पढ्ने व्यवस्था गरौं । आवश्यक परे यसका लागि अध्यादेश ल्याऔं,’ उनले भने ।
सांसद भण्डारीले नागरिकलाई देशमा सरकार भएको महसुस गराउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।