
चुनावको मुखमा राष्ट्रिय जनता पार्टी नेपालले मधेश आन्दोलनमा शहादत दिएका परिवारलाई ५०–५० लाख रुपैयाँ दिने लोभ देखाएको छ ।
महोत्तरीको जलेश्वरमा पार्टीको घोषणापत्र सार्वजनिक कार्यक्रममा राजपा नेता राजेन्द्र महतोले दुई नम्बर प्रदेशमा राजपा–फोरम गठबन्धनको सरकार बन्ने दाबी गर्दै मधेश प्रदेशको सरकारद्वारा शहिद परिवारलाई ५० लाख दिने बताए ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आन्दोलनको आह्वान गरे संगै आन्दोलनमा शहादत दिने लाई ५०–५० लाख रुपैया दिने विवादास्पद निर्णय गर्दा निकै आलोचना भएको थियो ।
राजपाको चुनावी घोषणापत्रमा ५० लाख दिने कुरा उल्लेख नभएपनि दुई नम्बर प्रदेशमा आफ्नो सरकार बन्ने निश्चित भएको दाबी गरे ।
शहिद परिवारलाई आर्थिक सहयोग बाहेक प्रादेशिक सरकार अन्तर्गत आउने सरकारी जागिर उपलब्ध गराउने, शहिद परिवारक बच्चाहरुको निशुल्क अध्ययनको व्यवस्था गरिने, शहिद परिवारलाई स्वरोजगारको लागि छुट्टै आर्थिक सहायता उपलब्ध गराउने पनि नेता महतोले प्रतिबद्धता जनाए ।