
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भूमिसम्बन्धी समस्या समाधान गर्न प्रदेश सरकारले समन्वय र सहजीकरण गर्ने बताएका छन् । भूमि समस्या समाधान आयोगले आज आयोजना गरेको प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा उनले भूमिहीन सुकुम्वासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि प्रदेश सरकारले आवश्यक सहजीकरण गर्ने बताए ।
“आयोगलाई महत्वपूर्ण जिम्मेवारी सुम्पिएको छ । त्यो जिम्मेवारी पूरा गर्न पूर्ण रूपमा सफल हुनुहोस् । प्रदेश सरकारले सङ्घ र स्थानीय सरकार, भूमि आयोग सबैसँग प्रभावकारी सहजीकरण गर्छ । सहजीकरणमा कुनै कमी आउन दिइने छैन”, मुख्यमन्त्री आचार्यले भने ।
कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिहीन सुकुम्वासीलाई न्याय दिन गठन भएको आयोग अन्तिम भएको र यसले भूमिसम्बन्धी सबैखाले समस्या समाधान गर्ने विश्वास व्यक्त गरे ।