
नेकपा एमालेका सांसद ठाकुर गैरेले फेरि पनि गणतान्त्रिक व्यवस्थाविरुद्ध आँखा झिम्काउने र हात लम्काउने षडयन्त्रमा नलाग्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई चेतावनी दिएका छन् । फागुन ७ गते शाहले दिएको अभिव्यक्तिले प्रजातन्त्रप्रति विषवमन गर्ने काम भएको उनले आरोप लगाए ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा एमाले सांसद गैरेले पूर्वराजाको हैसियतमा मठमन्दिरमा पूजाआजा गर्ने ‘हैसियतमै’ बस्न शाहलाई चेतावनी दिएका हुन् ।
‘जननेता मदन भण्डारीले २०४८ सालपछि भन्नुभएको थियो– संविधान उल्लंघन गरेर राजाले हात लम्काउने र आँखा झिम्काउने काम गरे राजतन्त्र समाप्त हुने कुरा गर्नुभएको थियो । पछि जनआन्दोलनबाट निरंकुश राजतन्त्रको अन्त्य भयो र जनताका छोराछोरी राष्ट्रपति हुने अवस्था बन्यो’, गैरेले भने, ‘अहिले फेरि गणतान्त्रिक व्यवस्थाविरुद्ध हात लम्काउने र आँखा झिम्काउन कोसिस खोजेको हो भने, यो परिस्थिति गुमाउन खोजेको हो भने हामीलाई चिन्ता छैन ।’
सांसद गैरेले गाण्तन्त्रविरोधी गतिविधि छाडेर पूर्वराजालाई आफ्नो स्थानमा बस्न आग्रह गरे । ‘पूर्वराजालाई हामीले निर्मल निवासमा सुरक्षा प्रबन्धसहित बस्न दिइएको छ । पूर्वराजाको स्थानमा बस्ने र मठमन्दिरको पूजाआजा गर्ने कामलाई शान्तपूर्वक प्रयोग गर्नुस्’, गैरेले भने ।
पूर्वराजाको अभिव्यक्तिपछि केही राजावादी दलको चुरीफुरी दखिएको भन्दै उनले त्यो अस्थायी हुने टिप्पणी गरे ।