
नेपाल राष्ट्र बैंकले कर्जा नोक्सानी व्यवस्थालाई १ प्रतिशतमा झारेको छ । मंगलबार राष्ट्र बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक समीक्षामार्फत कर्जा नोक्सानी व्यवस्थालाई १ प्रतिशतमा झारेको हो । जुन १.१० प्रतिशत रहेको थियो ।
समीक्षामार्फत व्यक्तिगत सवारी साधन र सबै प्रकारका विद्युतीय सवारी साधनको ऋण मूल्य अनुपातको सीमालाई ६० प्रतिशत कायम गरिएको छ ।
नन्डेलिभरेबल फरवार्डको हकमा प्राथमिक पूँजीको विद्यमान १५ प्रतिशतको सीमालाई वृद्धि गरी २० प्रतिशत कायम गरिएको छ ।
आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति जारी गर्दा लिइएको सजगतापूर्वक लचिलो कार्यदिशालाई यथावत राखिएको राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै, मौद्रिक नीतिको विद्यमान नीतिगत दरलाई ५.० प्रतिशत, ब्याजदर करिडोर अन्तर्गतको तल्लो सीमाको रूपमा रहेको निक्षेप संकलन दरलाई ३.० प्रतिशत र ब्याजदर करिडोर अन्तर्गतको माथिल्लो सीमाको रूपमा रहेको बैंक दरलाई ६.५ प्रतिशतमा यथावत् राखिएको छ ।