
प्रधानमन्त्री केपी शर्मा ओली महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपति मन्दिर पुगेका छन् । उनले मंगलबार साँझ पशुपतिनाथ मन्दिरको दर्शन र अवलोकन गरेका हुन् ।
प्रधानमन्त्री ओलीले मन्दिरमा पूजाआरती गर्नुका साथै महाशिवरात्रिको व्यवस्थापन तयारीबारे पशुपति क्षेत्र विकास कोषका पदाधिकारीसँग जानकारी लिएका छन् ।
उनले महाशिवरात्रि पर्वलाई सुरक्षित, अनुशासित, मर्यादित तथा व्यवस्थित बनाइ सहज रूपमा भक्तजनको दर्शनको व्यवस्था मिलाउन निर्देशन दिएका उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीका साथ संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डे, मन्त्रालयका सचिव विनोदप्रकाश सिंह, काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीलगायत पशुपतिनाथ मन्दिर पुगेका थिए ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गरी यही फागुन १२ गतेदेखि १५ गतेसम्म पशुपतिनाथ मन्दिरको चार किल्लाभित्र मासु, मदिरा तथा नशालु पदार्थ उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न निषेध गरेको छ ।