
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही समयदेखि देखिएको अन्योल र अलमल चिर्दै आफ्नो पार्टी दायाँबाट बायाँतर्फ सिफ्ट भएको बताएका छन् ।
बुधबार बिहान अखिल क्रान्तिकारी प्रदेश नम्बर १ को प्रथम बैठक तथा प्रशिक्षणलाई सम्बोधन गर्दै उनले गत केन्द्रीय समिति बैठकले दायाँबाट बायाँतर्फ सिफ्ट गरेको बताएका हुन् ।
स्थानीय तहबाट समाजवादको अभ्यास गर्ने निर्णय गरिएको उनले जानकारी दिए । यसले पार्टीलाई आफ्नै वर्ग र समुदायतिर फर्काएको उनको भनाइ थियो ।
अब समुदायसँगै बसेर संघर्ष गर्ने र समुदायसँगै बसेर समाजवादको अभ्यास गर्ने नीति लिइएको उनले जानकारी दिए । पार्टीकै अर्को निर्णयअनुसार जनतासँग माओवादी तराई-मधेश जागरण थालिएको उनले बताए ।