०८ साउन २०८३, शुक्रबार
व्यवसायीको मागमा अधुरो सम्बोधन

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका चार व्यवस्था–ईभी व्यवसायी निराश, बैंकर उत्साहित

फागुन १४, २०८१
काठमाडौं
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका चार व्यवस्था–ईभी व्यवसायी निराश, बैंकर उत्साहित

नेपाल राष्ट्र बैंकले मंगलबार चालु आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीतिको दोस्रो त्रैमासिक अर्थात् अर्धवार्षिक समीक्षा सार्वजनिक गर्‍यो । सात पृष्ठ लामो समीक्षामा चार वटा नयाँ व्यवस्था गरिएको छ । यो अर्धवार्षिक समीक्षाले अधिकांश व्यवस्थालाई यथावत् राख्दै चार वटा व्यवस्थामा परिमार्जन गरेको हो ।

आर्थिक क्रियाकलाप विस्तारलाई समेत उच्च प्राथमिकतामा राख्नुपर्ने भएका कारण आर्थिक वर्षको मौद्रिक नीति जारी गर्दा लिइएको सजगतापूर्वक लचिलो कार्यदिशालाई यथावत् राखिएको राष्ट्र बैंकले जनाएको छ । अर्धवार्षिक समीक्षाले ५ प्रतिशतको नीतिगत दर, ३ प्रतिशतको निक्षेप संकलन दर र ६.५ प्रतिशतको बैंक दरलाई  यथावत् राखेको छ । 

यसका साथै अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातलाई पनि यथावत् नै राखिएको छ । यसबाहेक अर्धवार्षिक समीक्षामार्फत् चारवटा नयाँ व्यवस्था गरिएको छ । 

पहिलो, लघुवित्त वित्तीय संस्थाहरूको कर्जाको ब्याजदर २०८२ जेठदेखि आधार दरसँग आबद्ध गरी तय गर्नुपर्ने व्यवस्था गरिएको छ । त्यस्तै, व्यक्तिगत सवारी साधन र सबै प्रकारका विद्युतीय सवारी साधनको ऋण मूल्य अनुपातको सीमालाई ६० प्रतिशत कायम गरिएको छ । जुन यसअघि ८० प्रतिशत रहेको थियो ।

तेस्रो, असल कर्जाको विद्यमान १.१० प्रतिशतको कर्जा नोक्सानी व्यवस्थालाई १.० प्रतिशत कायम गरिएको छ । र चौंथोमा नन्डेलिभरेबल फरवार्डको हकमा प्राथमिक पूँजीको विद्यमान १५ प्रतिशतको सीमालाई वृद्धि गरी २० प्रतिशत कायम गरिएको छ ।

सजगतापूर्वक लचिलो कार्यदिशालाई निरन्तरता दिइएको मौद्रिक नीतिबाट नेपाल सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सहयोग पुग्ने राष्ट्र बैंकले जनाएको छ ।

यो पनि पढ्नुहोस्- ​मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा : कर्जा नोक्सानी व्यवस्थालाई १ प्रतिशतमा झारियो

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाबाट बैंक र पूँजी बजार  क्षेत्र उत्साहित देखिए पनि विद्युतीय सवारी साधन व्यवसायीहरू केही निरुत्साहित भएका छन् ।

कर्जा नोक्सानी व्यवस्था १ प्रतिशतमा झर्दा बैंकहरूको करिब साढे ४ अर्ब प्रोभिजन राइट ब्याक हुने पूर्वबैंकर भुवन दाहाल बताउँछन् । प्रोभिजन राइट ब्याक भएसँगै करिब साढे २ अर्ब बैंकहरूको नाफा बढ्ने उनको भनाइ छ ।

‘असल कर्जाको प्रोभिजन १.१० प्रतिशतबाट १ प्रतिशतमा झर्दा बैंकहरूको करिब साढे ४ अर्ब प्रोभिजन राइट ब्याक हुन्छ भने बैंकहरूको करिब साढे २ अर्ब नाफा पनि बढ्छ’, दाहालले भने, ‘राष्ट्र बैंकले पहिले नै प्रोभिजनलाई घटाउनुपर्ने थियो ।’

प्राथमिक पूँजीको १५ प्रतिशतको सीमालाई २० प्रतिशत बनाउनुले बैंकहरूको नाफा बढ्न सहयोग पुग्ने उनको भनाइ छ । मौद्रिक नीतिको समीक्षाले बैंकिङ क्षेत्रलाई फाइदा नै पुर्‍याएको उनको तर्क छ ।

राष्ट्र बैंकले विद्युतीय सवारी साधनको बिक्रीमा कडाइ गरेको छ । विद्युतीय गाडीको खरिदमा बैंकहरूले ८० प्रतिशतसम्म कर्जा प्रवाह गरिरहेका थिए । अब बैंकहरूले विद्युतीय सवारीमा ८० प्रतिशतको कर्जा प्रवाह गर्न नपाउने व्यवस्था गरिएको छ । राष्ट्र बैंकका अनुसार अब बैंकहरूले ६० प्रतिशतसम्म मात्रै ईभीमा कर्जा प्रवाह गर्न पाउनेछन् ।

तर, विद्युतीय सवारीमा कर्जाको सीमालाई ८० प्रतिशतबाट ६० प्रतिशतमा झार्दा व्यवसायीहरू निरुत्साहित बन्न पुगेका छन् । विद्युतीय गाडीको व्यापारमा राष्ट्र बैंकले ब्रेकर लगाएको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरी बताउँछन् । 

यो पनि पढ्नुहोस्- मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा सार्वजनिक, के-के भए परिवर्तन ?

‘राष्ट्र बैंकले ईभीको बिक्रीमा स्पीड ब्रेकर लगाएको हो । ठूलो मात्रामा ईभीको बजारमा प्रभाव पर्ने देखिन्छ’, उनले भने, ‘सरकारको कहिल्यै पनि दीर्घकालीन रणनीति भएन । बारम्बार राज्यका निकायबाट लिइने नीतिहरू स्थिर हुनुपर्छ भन्दै आएका छौं तर, त्यो भएको छैन ।’ 

अर्धवार्षिक समीक्षाबाट गरिएका परिवर्तनले पूँजी बजारमा अप्रत्यक्ष रूपमा फाइदा पुर्‍याउने सेयरबजारका जानकार छोटेलाल रौनियार बताउँछन् । लगानीकर्ताका जायज मागलाई सम्बोधन नगरे पनि बैंकिङ क्षेत्रका लागि फाइदा पुर्‍याउने व्यवस्था गरिएको उनको बुझाइ छ ।

‘लगानीकर्ताहरूका माग पूरा हुने अपेक्षा पनि थिएन । हुँदा पनि भएनन् । तर, बैंकरहरूलाई फाइदा हुने गरी मौद्रिक नीतिको समीक्षा आएको छ । अप्रत्यक्ष रूपमा सेयरबजारलाई सपोर्ट नै गर्ने देखिन्छ’, उनले भने’, ‘लगानीकर्ताहरू आशावादी नै छन् ।’ 

salt training

कमेन्ट गर्नुहोस्