
नेकपा (एमाले)ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । आउँदो आइतबार दिउँसो २ बजे पार्टी कार्यालय च्यासल, ललितपुरमा बस्ने गरी बैठक बोलाइएको हो ।
बैठकमा सरकारले जारी गरेको अध्यादेशलगायत पार्टी काम कारबाही र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
त्यसअघि सचिवालय बैठकका एजेन्डा तय गर्न शनिबार केन्द्रीय कार्यालय बैठक बस्नेछ । केन्द्रीय कार्यालयमा महासचिवको नेतृत्वमा उपमहासचिव र सचिवहरू रहने गरेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले जारी गरेको ६ वटा अध्यादेश सदनमा पेश हुन सकेको छैन ।
सत्तापक्षमै रहेका लोकतान्त्रिक समाजवादी, जनता समाजवादी पार्टी नेपालले भूमि अध्यादेशको विरोध गरेकाले सरकारले संसद्मा स्वीकृतिका लागि कार्यसूचीमा राख्न सकेको छैन । सरकारलाई प्रतिनिधिसभामा बहुमत पुग्ने भए पनि राष्ट्रियसभामा भने संख्या अपुग छ।
पुस अन्तिम साता बसेको मन्त्रिपरिषद् बैठकले भूमिलगायत विभिन्न ६ वटा अध्यादेश ल्याएको थियो ।