
आईसीसी च्याम्पियन्स ट्रफीमा अफगानिस्तानले इंग्ल्याण्डलाई ८ रनले पराजित गरेको छ । लाहोरको गद्दाफी स्टेडियममा अफगानिस्तानले दिएको ३२६ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड ४९.५ ओभरमा ३१७ रन बनाएर अलआउट भयो । हारसँगै इंग्ल्याण्ड प्रतियोगिताबाट बाहिरिएको छ ।
अफगानिस्तानका अजमातुल्लाह ओमरजाईले ५ विकेट लिए । ओपनर इब्राहिम जाद्रानले १७७ रनको इनिङ खेले जुन च्याम्पियन्स ट्रफीको इतिहासमा सर्वाधिक व्यक्तिगत स्कोर हो । इंग्ल्याण्डका लागि जो रुटले १२० रन बनाए।
लाहोरको गद्दाफी स्टेडियममा अफगानिस्तानले ब्याटिङ रोजेको थियो । टोलीले इब्राहिम जाद्रानको शतकको आधारमा ७ विकेट गुमाएर ३२५ रन बनाएको थियो । जाद्रानले १४६ बलमा १७७ रनको इनिङ खेले । जसमा १२ चौका र ६ छक्का सामेल थिए ।
समूह ‘बी’ मा अष्ट्रेलिया, दक्षिण अफ्रिका, अफगानिस्तान र इंग्ल्याण्ड गरी ४ टोली छन् । समूहबाट २ टोली मात्र सेमिफाइनल पुग्नेछन् । सबै टोलीले २–२ खेल खेलेपछि दक्षिण अफ्रिका र अष्ट्रेलिया ३–३ अंकसहित शीर्ष–२ मा छन् ।
इंग्ल्याण्डलाई पराजित गर्दै अफगानिस्तानले २ अंक जोडेको टोली तेस्रो स्थानमा छ । इंग्ल्याण्डले एक खेल पनि जित्न सकेको छैन, दक्षिण अफ्रिकाविरुद्धको अन्तिम खेल जितेर पनि २ अंक मात्र जोड्न सक्नेछ । जुन टप २ मा पुग्न पर्याप्त हुने छैन । अर्कोतर्फ अफगानिस्तानले अन्तिम खेलमा अस्ट्रेलियालाई हराएमा टोली सेमिफाइनलमा पुग्ने छ ।