
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको नारायणगढ–बुटवल सडकखण्ड विस्तारको काम धमाधम भइरहेको छ ।
सडक विस्तार मात्र होइन, विस्तार गरिएको सडकमा धमाधम कालोपत्रे समेत चलिरहेको आयोजनाले बताएको छ । अहिले चोरमारा-अरुणखोला खण्डमा कालोपत्रेको जारी रहेको आयोजनाले जनाएको छ ।
आयोजनका अनुसार पूर्वीखण्डको विभिन्न १८ स्थानमा कालोपत्रेको काम भइरहेको छ । गैंडाकोटबाट दाउन्नेसम्म आयोजनाको पूर्वीखण्डको ६५ किलोमिटरमध्ये ४३ किलोमिटर कालोपत्रे भइसकेको सूचना अधिकारी इन्जिनियर शिव खनालले जानकारी दिए ।
उनका अनुसार साना पुल सबै बनाइसकिएको छ भने १२ वटामध्ये ४ वटा ठूला पुलको काम सम्पन्न भइसकेको छ । बाँकी ८ वटा ठूलोको काम पनि तीव्र गतिमा भइरहेको छ । पछिल्लो साढे दुई महिनायता द्रुत गतिमा काम भइरहेको सूचना अधिकारी खनालले बताए ।

यो सडक विस्तारका लागि ग्लोबल बोलपत्रमार्फत् चिनियाँ निर्माण कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेड’ले ठेक्का लिएको थियो । ११४ किलोमिटर सडकलाई गैंडाकोट–दाउन्ने (६५ किलोमिटर) र दाउन्ने–बुटवल (४९ किलोमिटर) गरी दुई खण्डमा विभाजन गरी बोलपत्र आह्वान गरिएको थियो । दुवै खण्ड निर्माणको जिम्मा चाइना स्टेट कन्स्ट्रक्सनले पाएको थियो ।
२०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवलबाट दुवै खण्डको शिलान्यास गरेका थिए । २०७९ साउन २२ भित्र काम सक्ने गरी ठेक्का सम्झौता भएकाका निर्धारित समयमा काम हुन सकेन छ । पटक-पटक गरी आयोजनाको ठेक्का सम्झौताको म्याद तीनपटक थपिएको छ । पछिल्लोपटक आगामी साउन ८ गतेभित्र काम सक्नेगरी समय थप गरिएको छ ।