२३ असार २०८३, मंगलबार
सरसर्ती २४ घण्टा

कुलमान हटाउन प्रक्रिया अघि बढ्यो, अमेरिकाबाट डिपोर्ट भएकाहरु परिवारको जिम्मामा

फागुन २२, २०८१
काठमाडौं
कुलमान हटाउन प्रक्रिया अघि बढ्यो, अमेरिकाबाट डिपोर्ट भएकाहरु परिवारको जिम्मामा

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

बुधवार बसेको मन्त्रिपरिषद बैठकले कार्यसम्पादन मूल्यांकनका आधारमा पदबाट किन नहटाउने भन्दै तीन दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको एक मन्त्रीले बताए । यससँगै कुलमानलाई हटाउन प्रक्रिया अघि बढेको छ । 
००००
मन्त्रिपरिषद्कै बैठकले एआईजीमा जनक भट्टराईलाई नियुक्त गर्ने, स्वास्थ्य सचिवमा डा विकास देवकोटालाई बढुवा गर्ने, प्रधानमन्त्रीको विज्ञ सल्लाहकारमा अग्नि खरेललाई नियुक्त गर्नेलगायतको निर्णय पनि गरेको छ । 
००००
नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले अमेरिकामा कागजातविहीन भएपछि फर्काइएका (डिपोर्ट भएका) नौ जनालाई आवश्यक सोधपुछ र जानकारी लिएर परिवारको जिम्मा लगाएको छ । 

ब्यूरोका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले मानव बेचबिखनमा परेर उनीहरु अमेरिका पुगेका हुन् या अन्य कारण छन् भन्ने विषयमा जानकारी लिएर परिवारको जिम्मामा पठाइएको जानकारी दिए ।  प्रहरीका अनुसार पीडितका रुपमा बेचिएर अमेरिका पुगेको भए त्यसरी पठाउने व्यक्तिमाथि बेचखिनमा मुद्दा चलाउनुपर्ने भएकाले ब्यूरोमा ल्याएर सोधपुछ गरिएको हो ।
००००
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीले अघि बढाएको तराई–मधेस जागरण अभियानले दक्षिण नेपालका लाखौँं जनतामा नयाँ भरोसा जगाउँदै लगेको बताएका छन् । 

जनतासँग माओवादी, तराई–मधेस जागरण अभियानको क्रममा बुधबार महोत्तरीको मटिहानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले झापाबाट सुरू गरेर मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषाहुँदै महोत्तरीसम्म आउँदा लाखौँ जनतामा उत्साह सिर्जना गरेको दाबी गरे ।
००००
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले यही फागुन २५ गते काठमाडौंमा गर्ने भएको आमसभा स्थगित गरिएको छ । 

बुधबार केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले त्यो दिनको आमसभा स्थगित गरेर पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि विमानस्थल पुग्ने निर्णय गरेको हो । फागुन २५ मा ज्ञानेन्द्र पोखराबाट काठमाडौं फर्किँदैछन् । उनी लामो समयदेखि पोखरामै छन् ।
००००
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय मानव अधिकार आयोगलगायत विभिन्न संवैधानिक निकायमा भएको नियुक्तिविरुद्ध परेका रिटमाथि संवैधानिक इजलासमा बुधबार दोस्रो दिनको सुनुवाइ सम्पन्न भएको छ । 

गत माघ २९ गते शुरू भइ हेर्दाहेर्दैमा राखिएको रिटमाथि बुधबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत नेतृत्वको संवैधानिक इजलासमा सुनुवाइ भएको हो ।
००००
शेयर बजारमा लगातार तेस्रो दिन दोहोरो अंकको गिरावट आएको छ ।

अघिल्ला ९ दिन बढेको नेप्से लगातार तेस्रो दिन घट्ने क्रममा बुधबार २५.१६ अंकको गिरावट आयो ।
००००
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कार्यसम्पादन मूल्यांकनमा शून्य अंक दिइएकोबारे संसद्मा जवाफ दिन ऊर्जामन्त्री दीपक खड्कालाई सभामुखले रूलिङ गरेका छन् ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा नेकपा माओवादी, रास्वपा, राप्रपा लगायतका दलले कुलमानलाई शून्य नम्बर दिइएकोबारे सरकारको जवाफ माग गर्दै विरोध जनाएपछि सभामुख देवराज घिमिरेले रूलिङ गरेका हुन् ।
००००
सरकारले ल्याएका ५ वटा अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत भएको छ । बुधबार बसेको बैठकमा भूमिसम्बन्धी बाहेक अन्य पाँच अध्यादेश पेस भएकामा सदनले स्वीकृत गरेको हो। 

जसमा सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१, आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायीत्व पहिलो संशोधन अध्यादेश–२०८१, नीजिकरण संशोधन अध्यादेश–२०८१ र आर्थिक तथा व्यवसायीक वातावरण सुधार लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१ र  सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१ रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्