
नेपाली चलचित्र निर्देशन गरेर अन्तर्राष्ट्रिय रूपमा परिचित निर्देशक दीपक रौनियार निर्देशित ‘राजागञ्ज’ मधेशको कथामा तयार गरिएको छ । हालै आयोजना गरिएको पत्रकार भेटघाटमा निर्देशक रौनियारले आफूले झन्डै आठ वर्षअगाडि सोचेको कथालाई चलचित्रमा ल्याएको बताए ।
उनले भने, 'यो मेरो भोगाइ पनि हो तर यसलाई प्रहरीको कथामा रहेर पटकथा तयार गरेको छु । मधेसको संस्कृति, विविधता, विभेदलगायत घटनाक्रमलाई यसमा देखाइएको छ । यो एउटा महिला प्रहरी अधिकृतको कथा हो ।'
निर्देशक रौनियारले चलचित्रको विषय सोचेपछि धेरै महिला प्रहरीलाई भेटेर गरिएको कुराकानीका आधारमा ‘पूजा’ नामक पात्रको निर्माण गरिएको बताए । उनले नेपालबाहिर यस चलचित्रलाई ‘पूजा सर’कै नाममा प्रदर्शन गर्दै छन् । चलचित्रमा सात महिला पात्र केन्द्रीय भूमिकामा रहेका छन् । 'मधेशमा महिला कार्यकारी हुँदाको परिस्थिति र उसले भोग्नुपर्ने समस्यालाई यसमा देखाउने कोसिस गरेका छौँ । विश्वका ठूलाठूला महोत्सवमा छानिएको चलचित्र बल्ल हामीले नेपाल ल्याएका छौँ । यो हाम्रो समाजकै एउटा कथा वा घटना हो,' उनले भने ।
चलचित्रको केन्द्रीय भूमिकामा रहेका कलाकारमध्ये एक अभिनेता दयाहाङ राई हुन् ।
कलात्मक र व्यावसायिक दुवै किसिमका चलचित्रमा अभिनय गर्न आफूले सोहीअनुसार तयारी गरेको अभिनेता राईले बताए । 'एकै किसिमको चलचित्रमा प्रस्तुत भएमा त्यसले विविधता दिन सक्दैन । हामीले केही समययता अब्बल चलचित्र बनाइरहेका छौँ, जसले अन्तरराष्ट्रिय महोत्सवमा वाहवाही पाइसकेको छ । त्यस्ता चलचित्रमा मलाई सुहाउँदो पात्र लिएर आउने निर्माता र निर्देशकलाई म नकार्न सक्दिन किनकि देशबाहिर चलचित्र होस् या खेलकुद देशलाई प्रतिनिधित्व गरेर गइरहेका हुन्छौँ,' उनले भने ।
अभिनेत्री ऋचा शर्माले चलचित्रमा आउनैपर्ने मधेशको एउटा कथा आएको बताए। उनले भने, 'यो विषयमा चलचित्र बन्नु आवश्यक थियो । मधेसको कथामा केन्द्रित यस चलचित्रको कन्द्रीय भूमिकामा भने महिला छन्, सात महिलाले कथा भनेका छौँ । यसले मधेसको विविधतालाई चलचित्रमार्फत धेरै दर्शकसम्म पुर्याउँछ ।'
चलचित्रमा अभिनेता राईसँगै आशा मगराती, विजय बराल, गौमाया गुरुङ, पशुपति राई, पूर्वमिस नेपाल निकिता चाण्डक, पुष्पा यादव, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वरकुमार झा, नीरज श्रेष्ठलगायत कलाकारको अभिनय रहेको छ । नेपलमा सार्वजनिक प्रदर्शन अगावै भेनिस, ह्याम्बर्ग, बुसान र मुम्बईजस्ता अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा ‘राजागञ्ज’ छनोट भएर प्रदर्शन भइसकेको छ ।
नेपाल र भारतको सीमावर्ती सहरमा अपहरणमा परेका दुई बालकलाई मुक्त गराउन प्रहरीले गरेको खोजीको कथा पनि यसमा समेटिएको निर्मातामध्येका एक रामबाबु गुरुङले जानकारी दिए ।
यो चलचित्र निर्माणमा भारतीय निर्देशक अनुराग कश्यप, निर्देशक रामबाबु गुरुङ, अभिनेता दयाहाङ राईले सहकार्य गर्नुभएको उनले बताए ।