०४ साउन २०८३, सोमबार

भारतले बिजुली दिएर नेपालमा लोडसेडिङ अन्त्य भएको हो, कुलमानलाई नायक नबनाऔं– ऊर्जामन्त्री खड्का

फागुन २२, २०८१
काठमाडौं
भारतले बिजुली दिएर नेपालमा लोडसेडिङ अन्त्य भएको हो, कुलमानलाई नायक नबनाऔं– ऊर्जामन्त्री खड्का

ऊर्जा, जलस्रोत एवं सिंचाइमन्त्री दीपक खड्काले कुलमान घिसिङ व्यक्तिका कारण नभई भारतले विद्युत दिएका कारण नेपालबाट लोडसेडिङ अन्त्य भएको बताएका छन् । तत्कालीन समयमा नेपालको लोडसेडिङ अन्त्य गर्न बिजुली दिएकोमा भारतलाई धन्यवाद दिनुपर्ने उनले बताए । 

बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले कुलमानले व्यक्तिगत रूपमा लोडसेडिङ अन्त्य नगरेकोले उनलाई नायक बनाउन आवश्यक नरहेको बताएका हुन् । 

‘लोडसेडिङको अन्त्य कुलमानले गरेका होइनन्, नेपालको आवश्यकता अनुसार भारतले विद्युत दिएर भएको हो । हाम्रो आवश्यकता परिपूर्ति गरिदिएकोमा भारतलाई धन्यवाद दिऔं । तत्कालीन समयमा लोडसेडिङ अन्त्य गरेको श्रेय भारतलाई दिनुपर्छ’, मन्त्री खड्काले भने । 

केपी शर्मा ओली प्रधानमन्त्री रहेको समयमा २०७३ सालमा मन्त्रिपरिषद्‌बाट निर्णय गराएरै भारतसँग विद्युत खरिद गरिएको मन्त्री खड्काले स्मरण गराए । ‘सम्माननीय ओली प्रधानमन्त्री रहेको समयमा मन्त्रिपरिषद्‌मा निर्णय भएर खरिद भएको हो । लोडसेडिङको अन्त्य यहाँ एक जनाले गरेको होइन’, मन्त्री खड्काले भने । 

मन्त्री खड्काले कुलमानले सरकरलाई नटेरेको र आफूलाई कानूनभन्दा माथि ठानेकोले उनीसँग काम गर्न समस्या भएको बताए ।

‘कुलमानलाई नियुक्त गर्दा भदौ मसान्तभित्र नम्बर दिनुपर्नेका आधारमा उहाँको क्षमता हेर्ने व्यवस्था रहेछ । भदौमा उहाँले मूल्यांकनका लागि अनुरोध गर्नु भएन, असोजमा सरकारको तर्फबाट स्मरण गराइयो– कार्यसम्पादन मूल्यांकन गर्नुभएन’ मन्त्री खड्काले भने, ‘पुसमा आफैंले नम्बर दिएर ९८ दशमलव ९९ प्रतिशत आएको भनेर दिनुभयो । माननीय सदस्यहरू कति शिक्षक ब्याकग्राउन्डका हुनुहुन्छ । विद्यार्थी जाँचमा उपस्थित भएन भने कति नम्बर प्राप्त हुन्छ ?’

salt training

कमेन्ट गर्नुहोस्