
जिल्लामा मुख्य दलका नेताको जमघट बढेपछि महोत्तरीमा उत्साह छाएको छ । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार एकै दिन महोत्तरी पुगेका थिए ।
'मुलुकका जिम्मेवार दलका नेताहरू एकैदिन जिल्लाका विभिन्न कार्यक्रममा सरिक हुनुभयो, यसले यहाँका जनतामा आशा र उत्साह पलाएको छ,' बर्दिबास नगरपालिकाका प्रमुख प्रल्हादकुमार क्षेत्री भन्छन्, 'मुख्य दलका नेताले यहाँका विषय उठाउनुभएको छ, यहाँका आवश्यकताले उपल्लो तहमा चासो बढाएको छ, यो हाम्रा लागि अवसर हो ।'
तत्कालै कुनै परिणाम नदेखिए पनि नेताहरूको जमघटले जिल्लालाई दूरगामी रूपमा फाइदा नै पुग्ने क्षेत्रीको विश्वास छ ।
प्रधानमन्त्री ओली बिहीबार जिल्लाको गौशाला–१ स्थित नेपाल पल्प एण्ड पेपर इण्डष्ट्रिज प्रालिको उद्घाटन समारोहमा सभापति देउवा पार्टी कार्यकर्ताबीच बर्दिबासमा र अध्यक्ष दाहाल सम्सीमा ‘जनतासँग माओवादी, तराई मधेस जागरण अभियान’को कार्यक्रममा सरिक भए ।
'तीनै ठाउँमा मधेसको आर्थिक विकास र समृद्धिका कुरा उप्किए, तीनै नेताले यहाँको विकासमा आफू प्रतिबद्ध रहेको बताए,' गौशाला–४ रजखोरका सामाजिक राजनीतिक कार्यकर्ता अजय कुशवाहा भन्छन्, 'नेताहरूको यो जमघटले यहाँका विकास सम्भावनाबारे चर्चा बढेका छन् ।' बहालवाला प्रधानमन्त्री र दुई पूर्वप्रधानमन्त्री नै रहेको हुँदा आशलाग्दो स्थिति बनेको कुशवाहाको बुझाइ छ ।
बुधबारदेखि नै जिल्लामा विभिन्न भेटघाट र सभामा सरिक भएका माओवादी अध्यक्ष प्रचण्डले सर्वसाधारणसँग पनि प्रत्यक्ष भेटघाट र कुराकानी गरे ।
यसैगरी शुक्रबारको मनराशिशवा नगरपालिकाको कार्यक्रममा सरिक हुन बिहीबार नै बर्दिबास आइपुगेका कांग्रेस सभापति देउवाले यहाँका कृषि, उद्योग र सुक्खा बन्दरगाहको कुरा महत्वका साथ हेरिने बताएका छन् । अध्यक्ष दाहालले त सुक्खा बन्दरगाहबारे आफू निकै उत्साही रहेको र यसका लागि पहलकदमी लिने सार्वजनिक प्रतिबद्धता नै जनाए ।
अब केही हुन्छ भन्ने विश्वास पलाउँदै गएको जलेश्वर उद्योग वाणिज्य सङ्घका अध्यक्ष शिवचन्द्र चौधरीले बताए ।
प्रधानमन्त्री ओली सरिक कार्यक्रममा नेपाल सरकारका श्रम, रोजगार तथा सामाजिक कल्याणमन्त्री तथा लोसपाका वरिष्ठ नेता शरतसिंह भण्डारी र मधेस प्रदेशका मुख्यमन्त्री तथा जनमत पार्टीका नेता सतिशकुमार सिंह पनि सहभागी थिए ।
यहाँका कुरा केन्द्र र प्रदेश सरकारसम्म जिम्मेवार तहमा पुगेको गौशालाका नगरप्रमुख डा दीपेन्द्र महतोले बताए । यसबाहेक प्रदेश सरकारका मन्त्रीहरू सरोजकुमार यादव र राजकुमार लेखीसहितको नेताहरूको सामूहिक सहभागिताले यहाँका प्रस्ताव अब सबैजसो दलका मुख्य नेतासम्म पुगेका डा महतोको भनाइ छ ।
कार्यक्रम सकेर प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष दाहाल महोत्तरीबाट फर्किसके पनि सभापति देउवा भने आज मनराशिशवामा आयोजना हुने कार्यक्रममा सरिक हुने तालिका छ । रासस