२३ असार २०८३, मंगलबार

देशमा लगानी भित्र्याउने वातावरण बनाउन शेखर कोइरालाको आग्रह

फागुन २४, २०८१
झापा
देशमा लगानी भित्र्याउने वातावरण बनाउन शेखर कोइरालाको आग्रह

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आर्थिक विकासका लागि विदेशमा रहेका नेपालीको लगानी भित्र्याउने वातावरण बनाउन सरकारलाई आग्रह गरेका छन्।

पार्टीको पूर्वआप्रवास समन्वय विभागले शनिबार झापाको विर्तामोडमा आयोजना गरेको ‘स्वदेशदेखि विदेशसम्म’ विषयक कोशी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा उनले लगानीमैत्री वातावरण बनाउन सके मुलुक समृद्धिको मार्गमा अघि बढ्न धेरै समय नलाग्ने बताए । 

‘हाइड्रोपावर, कृषि उत्पादन, जडीबुटी, पर्यटन प्रवर्द्धनलगायत क्षेत्रमा लगानी गरेर आयस्तर बढाउन सकिन्छ’, उनले भने, ‘यसका लागि सरकारले लगानीमैत्री वातावरण बनाउनुपर्छ।’

विदेश जाने नेपालीलाई कमदक्ष, दक्ष र अध्ययन गरी तीन प्रकारमा बाँड्नुपर्ने उनको भनाइ छ । साथै, देश विकासका लागि विदेशमा सिकेका सीप र आर्जेको पैसा स्वदेशमा लगानी गर्ने उत्साहजनक वातावरण बनाउन आवश्यक रहेकोमा उनले जोड दिए । 

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले जनतामा चुलिएको निराशा अन्त्य गर्ने अवसर नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)लाई प्राप्त भएको भन्दै अहिलेको गठबन्धन सरकारले जनता केन्द्रित भएर काम गर्नुपर्नेमा जोड दिए।

उनले विश्वमा अर्थतन्त्रको ढाँचा फेरिएको उल्लेख गर्दै उत्पादन गर्नेले भन्दा डिजाइन र बजारीकरण गर्नेले बढी मुनाफा आर्जन गरिरहेको बताए । 

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसी, सरिता प्रसाईं, राजीव कोइराला, सुशीला ढकाल आचार्य, डा. गोविन्द पोखरेल, गोमा भट्टराई, दिनेश कोइरालालगायत वक्ताहरूले विदेशमा रहेका नेपालीलाई स्वदेशमा सीप र श्रमको सदुपयोग गर्ने नयाँ नीति र कार्यक्रमको खाँचो रहेको औंल्याए।

दुई दिनसम्म सञ्चालन हुने अन्तरक्रियामा कोशी प्रदेशभरिका एक सय बढी प्रतिनिधि सहभागी छन्। विभागका कोशी प्रदेश संयोजक विज्ञानराज प्रसाईंका अनुसार कार्यक्रममा पूर्वआप्रवासीहरूको तथ्यांक संकलन, उनीहरूमा रहेको सीप र क्षमताको उपयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल हुनेछ।

छलफलमा उठेका विषयवस्तु दस्तावेज बनाएर पार्टी केन्द्रीय समितिमा बुझाइने उनले प्रसाईंले जानकारी दिए।

salt training

कमेन्ट गर्नुहोस्