
पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं आउने अवसर पारेर राजावादीहरूले काठमाडौंमा शक्तिप्रदर्शनको तयारी गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीसहित राजावादी संगठनहरूले राजधानीका विभिन्न स्थानबाट जुलुस निकालेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेला भई शाहको स्वागत गर्ने तयारी गरेका हुन् ।
पोखराबाट फर्किएपछि ज्ञानेन्द्रलाई जुलुससहित चक्रपथ हुँदै महाराजगञ्जस्थित निर्मल निवास लैजाने उनीहरूको तयारी छ । पूर्वराजा शाह आज पोखराबाट काठमाडौं फर्कँदै छन् । पछिल्लो केही समयदेखि गण्डकी प्रदेशका विभिन्न धार्मिक स्थलको भ्रमण गरिरहेका शाह आज अपराह्न काठमाडौँ आउन लागेका हुन् ।
राजावादीहरूले गर्ने शाहको स्वागत कार्यक्रमलाई लिएर स्थानीय प्रशासनले सुरक्षा सतर्कता बढाएको छ । पूर्वराजाको स्वागतमा करिब ६ हजार राजावादीहरू सहभागी हुनसक्ने प्रहरीको आँकलन छ । प्रदर्शनलाई मध्यनजर गरी काठमाडौंमा सुरक्षाकर्मीलाई ‘हाई अलर्ट’मा राखिएको प्रहरीले जनाएको छ ।
आज बिहानैदेखि काठमाडौंका संवेदनशील पहिचान गरिएका क्षेत्र र मुख्य चोकमा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । बिहानैबाट काठमाडौंका चोकचोकमा बर्दीसहित र सादा पोशाकका प्रहरी टोली परिचालित छन् ।
प्रहरीले भिडभाड र जुलुस अनियन्त्रित हुनसक्ने विश्लेषण गरी आवश्यक सुरक्षा रणनीति बनाएको छ । एकीकृत सुरक्षा रणनीति बनाएर सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारीले लोकान्तरलाई जानकारी दिए ।
उनका अनुसार एकीकृत सुरक्षा रणनीतिअन्तर्गत प्रहरी परिसर काठमाडौं, अपराध अनुसन्धान कार्यालय, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागबाट सुरक्षाकर्मी परिचालन गरिएको छ ।
अवाञ्छित गतिविधि एवं क्रियाकलाप गर्नेलाई कानुनी दायरामा ल्याइने उनले बताए । शान्तिपूर्ण प्रदर्शनमा भने प्रहरीले कुनै रोकटोक नगर्ने उनको भनाइ छ ।
फागुन ७ गते प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा पूर्वराजा ज्ञानेन्द्रले भिडियो सन्देश जारी गर्दै देश संकटमा परेकोले राष्ट्र बचाउन आफूलाई साथ दिन अपिल गरेका थिए ।
पूर्वराजाको अपिलले राजवादीहरू हौसिएका छन् तर, सत्तारूढ र प्रतिपक्ष दलहरू भने तरंगित भएका छन् । प्रमुख दलका नेताहरूले पूर्वराजालाई चेतावनी दिइरहेका छन् ।