
नेकपा (माओवादी केन्द्र)ले वर्तमान सरकारको अक्षमताका कारण प्रतिगामीहरू सक्रिय भएको निष्कर्ष निकालेको छ । सोमबार बिहान खुमलटारमा बसेको माओवादी पदाधिकारी बैठकले दुई दलीय सरकारको कुशासनका कारण प्रतिगामीहरू सक्रिय भएको निष्कर्ष निकालेको हो ।
तर, अहिले पनि नेपाल जनता लोकतन्त्रको पक्षमा रहेको माओवादीको निष्कर्ष छ । लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्रमात्रै हुन सक्ने पार्टीको निष्कर्ष रहेको माओवादी प्रवक्ता अग्नि सापकोटाले बताए ।
मुलुकमा राजतन्त्र फर्कने कुनै सम्भावना नगरेको उनले जिकिर गरे । 'नेपाली जनता जहिले पनि लोकतन्त्रकै पक्षमा छन् । जनता नै इतिहासका निर्माता र निर्णयकर्ता हुन्,' उनले भने, 'अहिले संसारभरी अराजकता र अन्योल छ । कसैले यही धमिलो पानीमा माछा मार्ने सपना देखेको हुनसक्छ । तर, त्यो दिवास्वप्न मात्रै हुन्छ । सफल हुँदैन ।'
पहिला राजाले गरेका कुकृत्य जनताले अहिले पनि नबिर्सेको उनले बताए । शासन गर्ने मन भए दल खोलेर आउन उनले पूर्वराजालाई चुनौती दिए । 'पूर्वराजाले शान्त चित्तले सोचे हुन्छ, हिजो हुन खालको स्थिति थियो ? अहिले गणतन्त्रमा छुट । एउटा पार्टी खोले भो ! संविधानअनुसार जे गर्न पनि छुट छ । तर, संविधानविरुद्ध जाने छुट कसैलाई छैन ।'