
प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएपछि कोशी प्रदेशसभा चिटिक्क बनाइएको छ । रङरोगन तथा सरसफाइ गरेर प्रदेशसभा र परिसर चिटिक्क बनाइएको हो ।
मंगलबार दिउँसो २ बजे प्रदेशसभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तय भएको छ । सोमबार बिहानैदेखि प्रदेशसभा सचिवालयका कर्मचारी सरसफाइमा व्यस्त रहेका छन् ।
फूलबारी तथा प्रदेशसभा सचिवालय परिसरभित्र रङरोगन गरिएको छ । प्रदेशसभा सचिवालयका कर्मचारीले भने यो नियमित काम भएको बताएका छन् ।
‘यो काम प्रदेशसभाको नियमितभित्र नै पर्छ’, लेखा अधिकृत जीवन राजभण्डारीले भने, ‘यो नयाँनौलो काम होइन ।’

नियमित गर्ने काम नै प्रधानमन्त्री आउनुभन्दा अघिल्लो दिन गरिएकाले प्रधानमन्त्री आएपछि सरसफाइ गरिएको भनेर हल्ला भएको हुन सक्ने उनले बताए ।
यसैबीच, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने भनिएको बैठकमा सहभागी नहुने बताउँदै आएका विपक्षी दलले भने अहिलेसम्म कुनै निर्णय गरेका छैनन् । विपक्षी दलहरूसँग प्रदेश सरकारले कुनै छलफल नगरेको, विपक्षीले उठाएका प्रश्नको उत्तर मुख्यमन्त्रीले नदिएको र विपक्षीप्रति सरकार उदासीन भएको भन्दै माओवादी केन्द्रले भने बहिष्कार गर्ने चेतावनी दिएको थियो ।
आइतबार बसेको प्रदेशसभा बैठकमा विशेष समय लिएर बोलेका माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्रीको अहिलेकै स्वभाव रहे आफूहरूले प्रधानमन्त्रीको सम्बोधनमा बस्न बाध्य नहुने चेतावनी दिएका थिए ।

विपक्षी दलका नेता बोल्दा मुख्यमन्त्री अनुपस्थित रहेको भन्दै असन्तुष्टिसमेत व्यक्त गरेका थिए । विपक्षमै रहेका एकीकृत समाजवादी र राप्रपाले भने बहिष्कार गर्ने कुनै निर्णय नभएको बताएका छन् । राप्रपाकी सचेतक सविना बजगाइँले आफूहरू बैठकमा सहभागी हुने बताइन् ।