०३ साउन २०८३, आइतबार
क्रिकेटमा फड्को मार्दै लुम्बिनी

क्रिकेटमय बनेको लुम्बिनी प्रदेश– तीन मैदानमा एकसाथ पीएम कप

फागुन २६, २०८१
बुटवल
क्रिकेटमय बनेको लुम्बिनी प्रदेश– तीन मैदानमा एकसाथ पीएम कप

समग्र देशमा क्रिकेटका भौतिक संरचना कमजोर भइरहेका बेला लुम्बिनीमा बलिया पूर्वाधार बनेसँगै प्रदेश नै क्रिकेटमय बनेको छ । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा प्रधानमन्त्री (पीएम) कप एक दिवसीय क्रिकेट प्रतियोगिताका खेलहरू लुम्बिनी प्रदेशमा भइरहेका छन् ।

क्रिकेटको उर्वरभूमि मानिने लुम्बिनीमा क्यानद्वारा आयोजित ठूलो प्रतियोगिता हुँदा प्रदेशमा क्रिकेटप्रेमी र खेलाडी उत्साहित छन् । रूपन्देहीमा निजी क्षेत्रबाट र सरकारी स्तरमा अन्तर्राष्ट्रिय स्तरका क्रिकेट मैदान बनेपछि जिल्लाले यस क्षेत्रमा ठूलो फड्को मारेको छ ।

प्रतियोगिताका खेल निजी क्षेत्रबाट बनेको नेपालको पहिलो ‘स्टेडियम’ रूपन्देहीको तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल, भैरहवाको सिद्धार्थ रंगशाला र दाङको लमहीस्थित देउखुरी क्रिकेट रंगशालामा भइरहेका छन् ।

यसअघि यी प्रतियोगिताहरू त्रिभुवन विश्वविद्यालय (टीयू) र मूलपानी क्रिकेट मैदानमा हुने गर्थे । वि.सं. २०४० ताका काठमाडौंबाहिर रूपन्देहीको भैरहवासहित तराईका जिल्लाहरूमा क्रिकेट खेल्न थालिएको इतिहास छ । लुम्बिनीमा उल्लासमयरूपमा क्रिकेट मैदान र ठूला प्रतियोगिता आयोजनासँगै लुम्बिनी क्रिकेटमा चम्किन लागेको क्रिकेट खेलाडी र जानरकारहरू बताउँछन् ।

नेपाली क्रिकेटका पूर्वअन्तर्राष्ट्रिय खेलाडी तथा हालका प्रशिक्षक शक्ति गौचनले बलिया खेल संरचना बनेपछि पहिलोपटक काठमाडौंबाहिर यो स्तरको प्रतियोगिता भएको बताए । 

‘प्रतियोगिताभर ४६ वटा म्याच हुनेछन्,’ गौचनले लोकान्तरसँग भने, ‘लीग चरणका १४ वटा खेल लमहीमा हुँदैछन्, १५ वटा खेल एक्स्ट्राटेक ओभल मैदान र १७ वटा सिद्धार्थ रंगशालामा सञ्चालन गर्नेगरी प्रतियोगिता अगाडि बढेको छ ।’ फाइनल खेल सिद्धार्थ रंगशाला, भैरहवामा हुनेछ ।

null

‘नेपालमा क्रिकेट खेल र समर्थकको क्रेज बढ्दो छ,’ गौचन भन्छन्, ‘त्रिवि मैदानको पूर्वाधार निर्माणमा सरकार लागेको छ । रुपन्देहीमा विनोद कुँवरले बनाएको मैदान अन्तर्राष्ट्रिय स्तरको भइहाल्यो । सँगै भैरहवाको सिद्धार्थ मैदानले क्रिकेटलाई थप उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ ।’

एक्स्ट्राटेक ओभलमा नेपालमै पहिलोपटक ‘फ्लड लाइट’ जडान गरिएको छ । यसलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले मान्यता दिएर रात्रिकालीन प्रतियोगिता शुरू हुने स्वर्ण युगको प्रतीक्षामा यतिबेला रूपन्देही छ । यो रंगशालाले रूपन्देहीमा क्रिकेट खेलाडी उत्पादन गर्न धेरै नै सहयोग पुग्ने विश्वास लिइएको छ । अहिले भैरहवा क्रिकेटका लागि आवश्यक पूर्वाधारमा पनि अग्रस्थानमा छ ।

लाइट जडान सकिएसँगै अब ‘स्टेडियम’ मा रातमा समेत क्रिकेट खेल खेलाउन सकिने एक्स्ट्राटेक ओभल क्रिकेट मैदानका प्रबन्ध निर्देशक विनोद कुँवरले बताए । ‘क्रिकेटमा पछिल्लो समय नेपालले उल्लेख्य प्रगति गरिरहेको छ, त्यसैकारण हामीले ठूलो लगानीमा क्रिकेट मैदान बनाएका छौं । सँगै अन्य सरकारी स्तरका खेल मैदानले लुम्बिनी क्रिक्रेटमा चम्किने देखिएको छ,’ उनले भने । 

नेपाल क्रिकेट संघ (क्यान) का केन्द्रीय सदस्य प्रदीप मजगैयाले क्यानले गर्ने ठूलो प्रतियोगिताका सम्पूर्ण खेल काठमाडौंबाहिर लुम्बिनीमा भइरहेको बताए । ‘गत वर्ष १र२ वटा गेम भैरहवामा भएका थिए,’ मजगैयाले भने, ‘यसपटक सबै खेल तिलोत्तमा, भैरहवा र लमहीमा भइरहेका छन् ।’

लमहीको स्टेडियम नेपालको सरकारी स्तरको सबैभन्दा सुविधासम्पन्न स्टेडियम हो । यहाँ ६ हजार मानिस बस्ने क्षमताको प्यारापिट छ । चेन्जिङ रूमसहितको मैदान लमही नगर विकास समितिले बनाएको हो । ‘नेपाली खेलाडीले निरन्तर उत्कृष्ट प्रदर्शन गरे पनि राज्यले हालसम्म सुविधासहितको क्रिकेट रंगशाला बनाउन सकेको छैन,’ मजगैयाले लोकान्तरसँग भने, ‘नेपालपछि क्रिकेट खेल्न शुरू गरेका देशहरू अहिले टेस्ट राष्ट्र बनिसकेका छन्, अरू देशको सफलतामा भौतिक पूर्वाधारको विकासलाई मुख्य मानिन्छ ।’

भैरहवाको सिद्धार्थ रंगशालामा क्रिकेट मैदानका अलावा अभ्यास गर्ने ठाउँ र एकेडेमी समेत छ । यो नेपालमै जिल्लास्तरमा एक दिवसीय खेल हुने पहिलो रंगशाला हो ।

null

कुनैबेला मेला महोत्सव र राजनीतिक सभा गर्ने स्थलका रूपमा परिचित रंगशाला अहिले देशभरका क्रिकेटप्रेमीको आकर्षणको केन्द्र बनेको छ । सिद्धार्थमा अहिलेसम्म २०० भन्दा धेरै राष्ट्रिय र जिल्लास्तरका प्रतियोगिता भएका छन् । 

अस्ट्रेलियामा व्यवसाय गर्दै आएका गुल्मीका विनोद कुँवरको लगानीमा तिलोत्तमा नगरपालिका– १७ दरखवासमा निर्माणाधीन एक्स्ट्राटेक ओभल निजी क्षेत्रबाट बनेको देशकै पहिलो व्यावसायिक क्रिकेट मैदान हो । वि.सं. २०८० साल जेठमा निर्माण शुरू भएको मैदान २०८० फागुनमै खेल्नयोग्य बनेको थियो ।

गत फागुन २८ गते उद्घाटनसँगै लिजेन्ड्स कप क्रिकेट प्रतियोगिता भइसकेको छ । तिलोत्तमा एक्स्ट्राटेक ओभल खेल मैदानमा गत फागुनदेखि अहिलेसम्म १०० भन्दा बढी खेल भइसकेको सञ्चालक कुँवरले बताए । नेपालको १९ वर्षमुनिको विश्वकप खेलेको महिला टोली र नेपाल प्रिमियर लिग टीम लुम्बिनी लायन्सले यो मैदानमा अभ्यास गरेको थियो ।

लुम्बिनी प्रदेश राजधानीनजिकै रहेको देउखुरी क्रिकेट मैदानमा सुविधासम्पन्न छ । देउखुरी क्रिकेट मैदान लमही नगरविकास समितिले १० करोड लागतमा बनाएको हो । 

null

पछिल्लो एक वर्षमा प्रदेशस्तरका झण्डै ३ दर्जन प्रतियोगिता र ५० बढी अभ्यास खेल यहाँ भएका छन् । राष्ट्रियस्तरको प्रतियोगिताका लागि पनि कुनै समस्या छैन । 

नेपाली क्रिकेटले पछिल्ला वर्षहरूमा निकालेको नतिजा लोभलाग्दो छ । तर, क्रिकेटको पूर्वाधारमा नेपाल कमजोर छ । नेपालमा सरकारी स्तरका सुविधा सम्पन्न क्रिकेट स्टेडियम छैनन् । नेपालले ठूला प्रतियोगितामा जित हात पार्न थालेपछि क्रिकेट स्टेडियम निर्माणको बहस शुरू भएको थियो । 

नेपाल क्रिकेट संघ (क्यान) का पूर्व सचिव प्रशान्त विक्रम मल्लले सबै प्रतियोगिता लुम्बिनीमा हुनुले क्रिकेटमा केन्द्रीकरण अन्त्य भएको देखिएको बताए ।

‘यसले नेपाली क्रिकेटलाई विकेन्द्रीकृत गरेको छ’ मल्लले भने, ‘आगामी वर्षदेखि अन्तर्राष्ट्रिय प्रतियोगिता पनि क्यानले यस क्षेत्रमा गर्न अनुमति दिन सक्ने सम्भावना छ । २ वटा मैदान भएपछि दिनसक्छ । एउटै मैदानमा निरन्तर खेलाउँदा पिच बिग्रिन्छ । अल्टरनेटमा कम्तीमा दुईवटा मैदान हुनुपर्छ ।’ 

null

रूपन्देही क्रिकेट खेल र खेलाडी जन्माउने उर्वर भूमिका रूपमा चिनिन्छ । जिल्लाबाट नेपाली क्रिकेटका दर्जनौं खेलाडी उत्पादन भएका छन् । आफ्नै प्रयास र मेहनतले नेपाली क्रिकेटको राष्ट्रिय टोलीबाट खेलेर धेरै खेलाडीले देशको नाम चम्काएका छन् । 

सिद्धार्थ रंगशालाले १०० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गरेको छ । ५० को दशकका सञ्जय गुरुङ, मनोज शाही, जगत टमाटा, अनुप थापा र सत्यजीत सरकार आदि रूपन्देहीका पुराना ‘स्टार’ क्रिकेटर हुन् । जगत राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रशिक्षक र सञ्जय अन्तर्राष्ट्रिय ‘अम्पायर’ हुन् ।  उनीहरूको सिको गर्दै राजु खड्का, सञ्जीव जोशी, दुर्गा सिंह, दुर्गा सेन, अमित श्रेष्ठ, दलबहादुर थापा, प्रशान्तविक्रम मल्ल, देवश कर्ण पनि जिल्लाबाटै क्रिकेटमा उदाएका थिए । तीनैजनाले रूपन्देहीसँगै देशको पनि नाम चम्काए । 

तेस्रो पुस्ताको रूपमा शक्ति गौचन, वसन्त रेग्मी, अमृत भट्टराई, कृष्ण कार्की, सागर पुन, आकाश गुप्ता र अन्तिम थापा राष्ट्रिय टोलीबाट खेलेका खेलाडी हुन् । यिनीहरूमध्ये रूपन्देहीका लागि क्रिकेटको धरोहरमा पर्छन्, गौचन र रेग्मी ।

गौचन राष्ट्रिय टोलीबाट सन्न्यास लिएपछि रूपन्देहीमा नै एकेडेमी सञ्चालन गरी विद्यालय तहदेखि क्रिकेट खेलाडी उत्पादन गर्न जुटेका छन् । हाल राष्ट्रिय टोलीका सदस्य रहेका सुशन भारी, कुशल भुर्तेल, कुशल मल्ल र देव खनाल रूपन्देहीकै खेलाडी हुन् । यीमध्ये देव यू– १९ टोलीको कप्तान रहिसकेका छन् । यिनीहरू शक्तिकै प्रशिक्षणबाट हुर्किएका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्