२१ असार २०८३, आइतबार
समाजमा बढ्दो विकृति

महिला सेलमा उजुरीको चाङ– लिभिङले निम्त्याएको तनावदेखि शिक्षकको हर्कतसम्म

फागुन २६, २०८१
काठमाडौं
महिला सेलमा उजुरीको चाङ– लिभिङले निम्त्याएको तनावदेखि शिक्षकको हर्कतसम्म
AI generated images

काठमाडौंको चाबहिल बस्दै आएकी सम्झना (नाम परिवर्तन) तीन वर्षदेखि रामेछापका कुमार (नाम परिवर्तन)सँग लिभिङ टुगेदरमा थिइन् ।

सम्झना र कुमारको शुरूको चिनजान सामाजिक सञ्जाल फेसबूकमार्फत भएको थियो । म्यासेन्जरमा कुराकानी चलेपछि उनीहरूले भेट्ने निधो गरे । 

सम्झनाले कुमारलाई गौशालास्थित पशुपतिनाथ मन्दिर दर्शन गर्न बोलाइन् । कलंकी बस्दै आएका कुमार पशुपति पुगे । त्यहाँ उनीहरूले आ–आफ्नो बारेमा बताए । 

प्लस–टु पढिरहेकी सम्झनालाई कुमारले आफू गाडी चालक रहेको बताए । निजी सवारी चालकको रूपमा काम गर्दै आएका कुमार र सम्झनाको भेटघाट बाक्लिन थाल्यो । 

शनिबार आएलगत्तै उनीहरू काठमाडौं उपत्यकाका विभिन्न स्थान घुम्न निस्किन्थे । ६ महिनासम्म सामीप्य भइसकेपछि उनीहरू सँगै बस्ने निर्णयमा पुगे ।

सम्झना परिवारलाई थाहा नदिई कुमारसँग कलंकीस्थित डेरामा लिभिङ टुगेदरमा बस्न थालिन् । कुमारले विवाह गर्ने आश्वासन दिइरहे । 

रातिराति कुमार मोबाइलमा व्यस्त हुन थालेपछि सम्झनालाई शंका लाग्यो । उनले ‘कसलाई फोन गरेको ?’ भन्दै कुमारलाई सोध्थिन् ।

कुमारले ‘साहुले फोन गरेको’ भनेर टार्थे । नुहाउन बाथरुम छिरेका बेला सम्झनाले कुमारको मोबाइल केलाइन् । अर्कै महिलासँग थुप्रै फोटो र भिडियो फेला पारिन् । 

बुझ्दै जाँदा गाउँमा कुमारको पहिल्यै विवाह भएको र एउटा छोरा समेत रहेको सम्झनाले थाहा पाइन् । यही विषयलाई लिएर उनीहरूबीच मनमुटाव हुन थाल्यो । 

कुमार ‘रेगुलर’ डेरामा आउन छाडे । डेरामा आउँदा उही कुरा निकालेपछि कुमारले सम्झनालाई कुटपिट समेत गरे । सम्झनाले केही सीप नलागेपछि परिवारको साथ मागिन् । 

परिवार सम्झनाको कुरा सुनेर छाँगाबाट खसेजस्तै भए । काठमाडौंमा पढ्न पठाएकी छोरीले थाहै नदिई परम्परा तोडेको भन्दै सम्झनामाथि परिवार खनिए । 

सम्झनाले कानूनी उपचार खोज्ने बताएपछि गत बिहीबार मात्रै सम्झना परिवारलाई लिएर जिल्ला प्रहरी परिसर काठमाडौंमा रहेको महिला सेलमा पुगिन् । 

जबर्जस्ती करणी मुद्दाको उजुरी लिएर सम्झना सेलमा पुगेपछि उनलाई प्रहरीले सोधे– ‘तीन वर्षसम्म लिभिङ टुगेदरमा बस्ने, अनि अहिले जबर्जस्ती करणीको मुद्दा लिएर आउने ?’

कुमारले आफूलाई विवाह गर्ने आश्वासन दिएकाले सहमतिमै लिभिङमा बसेको र विवाह गर्ने भन्दै कुमारले धेरैपटक शारीरिक सम्पर्क राखेकाले उक्त उजुरी ल्याएको जवाफ उनले दिइन् ।  

महिला सेलले कुमारलाई सम्पर्कमा ल्याउन खोज्यो । उनी सम्पर्कमा नआएपछि उजुरी दर्ता गरेर अनुसन्धान अघि बढेको छ ।

जब शिक्षकले छात्रालाई ‘पास हुने भए संवेदनशील अंग छुन दिनुपर्छ’ भने

काठमाडौंको नाम चलेको एउटा विद्यालयकी छात्राको उजुरी देखेर महिला सेलका प्रहरीहरू अचम्ममा परे । उजुरी शिक्षकविरुद्ध थियो । उजुरीमा लेखिएको थियो, ‘मलाई शिक्षकले परीक्षामा पास हुने भए संवेदनशील अंग देखाउनुपर्छ, छुन दिनुपर्छ र मैले शरीरमा हात लगाउँदा चुपचाप बस्नुपर्छ भने ।’ 

उजुरीको यस्तो व्यहोरा देखेपछि प्रहरीले शिक्षकलाई बोलायो । शुरूमा आनाकानी गरेका शिक्षकलाई विद्यालयबाटै पक्राउ गरेर ल्याउने चेतावनी दिएपछि उनी सेलमा पुगेका थिए । 

‘शिक्षक भएर यस्तो व्यवहार गर्ने हो ?’ भन्दै प्रहरीले प्रश्न सोधे । शिक्षकले इन्कारी बयान दिए । छात्राले रुँदै शिक्षकको दुर्व्यवहारबारे कुरा खोतल्दै गइन् । 

गणित पढाउने ती शिक्षकले लामोसमयदेखि यौन दुर्व्यवहार गर्दै आएको उजुरीमा उल्लेख छ ।

आवश्यक परे प्रत्यक्षदर्शी अन्य छात्रा पनि ल्याउने बताएपछि उजुरी दर्ता गरेर प्रहरीले अनुसन्धान अघि बढायो । यौन दुर्व्यवहारमा शिक्षकविरुद्ध अहिले अदालतमा मुद्दा चलिरहेको छ । 

घरायसी विवादको उजुरीको चाङ 

काठमाडौं परिसरको महिला सेलमा घरायसी विवादहरू क्रमशः श्रीमानले खान/लगाउन नदिएको, कुटपिट गरेको, बालबच्चाको हेरचाह नगरेको, अर्कै श्रीमती ल्याएर घर नआउने गरेकोजस्ता उजुरी आइरहेका छन् । ती उजुरीउपर प्रहरीले विपक्षीलाई ल्याएर छलफल गराउँछ । छलफल सकभर परिवार जोड्ने र मिलेर बसून् भन्नेमै हुन्छ । कुरा नमिले मात्रै मुद्दा दर्ता गर्छ । 

सेलमा खटिएकी एक सहायक निरीक्षकका अनुसार प्रायः उपत्यका बाहिरबाट काठमाडौंमा कामकाजी रूपमा बसेका महिला र पुरुषबीच हुँदै आएको असमझदारी र पारिवारिक खटपटका उजुरी आउने गरेका छन् । 

‘पहिला राम्रैसँग बसेका हुन्छन्, श्रीमान दुई/तीन दिन घर नआएपछि श्रीमतीले श्रीमान हरायो, सम्पर्कमा आएन भन्दै उजुरी लिएर आउँछन्,’ ती सहायक निरीक्षकले भनिन्, ‘श्रीमानलाई बल्लतल्ल सम्पर्कमा ल्याएर सोधपुछ गर्दा कामले व्यस्त भएको र आफूले परिवारको हेरचाह गर्ने बाचा गरेर श्रीमतीलाई लैजान्छन् ।’

कतिपय उजुरीमा श्रीमती छँदाछँदै श्रीमान अर्को महिलासँग लिभिङ टुगेदरमा बसेका घटना समेटिएका हुन्छन् । केही उजुरी सासु (श्रीमानको आमा) ले दुर्व्यवहार गरेको, ससुरा (श्रीमानको बुवा)ले मादक पदार्थ सेवन गरेर कुटपिट गर्ने गरेको भनेर पनि आउने गरेका छन् । 

यो आर्थिक वर्षको माघसम्ममा मात्रै २ सय ७५ वटा घरायसी विवादका ठाडो उजुरी सेलमा परेको छ । अधिकांश उजुरीमा प्रहरीले द्विपक्षलाई छलफलमा डाकेर मिलापत्र गराएर छाडेको छ । १८ वटा उजुरीमा पीडित र पीडक मिल्न नमानेपछि मुद्दा चलाइएको छ । 

घरायसी विवादपछि लैंगिक हिंसाका उजुरी धेरै आउने गरेका छन् । यो आर्थिक वर्षको माघसम्ममा ५७ वटा लैंगिक हिंसाका उजुरी परेका छन् । १५ वटा उजुरीमा मिलापत्र हुन नसकेपछि प्रहरीले मुद्दा चलाएको छ । 

प्रहरी भन्छ– ‘उजुरीमाथि संवेदनशील भएर अनुसन्धान हुन्छ’

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिल बोहराले महिला सेलमा आएका उजुरीमाथि संवेदनशील भएर अनुसन्धान गरिरहेको बताए । 

उनले भने, ‘पीडित र पीडक दुवैको परिचय गोप्य राख्नुपर्ने हुन्छ । जबर्जस्तीकरणीदेखि महिला हिंसासम्मका उजुरी आउँछन् । हचुवाका भरमा मुद्दा लैजाने कुरा हुँदैन ।’ 

बोहराका अनुसार सामान्य पारिवारिक विवादका विषय पनि प्रहरीले मिलाउँछ भन्ने आशमा सर्वसाधारणहरू प्रहरी कार्यालयसम्म आउने गरेका छन् ।

‘परिवारबाट केही पार नलागेपछि पीडित महिला प्रहरीमा आउँछन् । दुवै पक्षको कुरा सुनेर मिल्न सक्ने ठाउँ भएसम्म मिलाउने गर्छौं,’ बोहराले भने, ‘मिल्न नसक्ने अवस्था आए मुद्दामा जान्छौं ।’ 

salt training

कमेन्ट गर्नुहोस्