
सात महिनामा देशको कूल विदेशी विनिमय सञ्चिती १६.१ प्रतिशतले बढेको छ ।
चालु आर्थिक वर्षको सात महिना (साउनदेखि माघसम्म) कूल विदेशी विनिमय सञ्चिती १६.१ प्रतिशतले बढेर २३ खर्ब ६९ अर्ब रूपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले देखाएको हो ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार २०८१ असार मसान्तसम्म विदेशी विनिमय सञ्चिती २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको थियो । जुन माघ मसान्तमा १६.१ प्रतिशतले वृद्धि भई २३ खर्ब ६९ अर्ब ८ करोड पुगेको हो । अमेरिकी डलरमा यस्तो सञ्चिती १७ अर्ब ५ करोड पुगेको छ ।
कूल विदेशी विनिमय सञ्चितीमध्ये नेपाल राष्ट्र बैंकमा २१ खर्ब ५ अर्ब १४ करोड रहेको छ भने बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक)सँग २ खर्ब ६३ अर्ब ९३ करोड रहेको छ ।
आर्थिक वर्ष २०८१/८२ को सात महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिती १७.२ महिनाको वस्तु आयात र १४.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।