
पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा आइतबार काठमाडौंमा राजतन्त्र पक्षधरले गरेको आन्दोलनलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले समेत स्थान दिएका छन् ।
अन्तर्राष्ट्रिय समाचार संस्था एपीको समाचारलाई सीएनएन, अलजजिरा लगायत भारतीय सञ्चर माध्यमले समेत स्पेस दिएका छन् ।
सीएनएनले ‘१९ वर्षअघि नेपालका अधिनायकवादी राजा अपदस्थ भए, अहिले धेरैले राजतन्त्रको पुनःस्थापना चाहिरहेका छन्’ शीर्षकमा ज्ञानेन्द्र शाहका २ वटा तस्वीरसहितको समाचार प्रकाशित गरेको छ ।
अलजजिराले‘राजतन्त्र समर्थकहरूले अपदस्थ राजा ज्ञानेन्द्रलाई काठमाडौंमा गरे भव्य स्वागत’शीर्षकमा समाचार प्रकाशित गरेको छ । अलजजिराले उपशीर्षकमा पूर्वराजा देशको पश्चिमबाट राजधानी फर्किएपछि हजारौं समर्थकहरूले विमानस्थलमा राजतन्त्र समर्थक र्यालीमा भाग लिएका छन्’ लेखेको छ ।
भारतीय पत्रिका टाइम्स अफ इण्डियाको अनलाइन संस्करणमा एपीका १० वटा तस्वीरसहितको समाचार प्रकाशित भएको छ । टाइम्स अफ इण्डियामा ‘नेपालमा हावा बदलिएको संकेत? राजतन्त्रप्रति बढ्दो समर्थनबीच पूर्वराजालाई भव्य स्वागत’ शीर्षकमा समाचार लेखेको छ ।
द इण्डिएन एक्सप्रेसमा युवराज घिमिरेको बाइलाइनमा‘पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजतन्त्रवादीहरूले काठमाडौंमा भव्य स्वागत गरेका छन्’ शीर्षकमा समाचार प्रकाशित भएको छ ।
विभिन्न भारतीय अनलाइन पत्रिकाहरूले पनि पूर्वराजा शाहको पक्षमा भएको प्रदर्शनको समाचारलाई स्थान दिएका छन् । पारिवारिक भ्रमणका लागि पोखरा गएका पूर्वराजा शाह आइतबार काठमाडौं फर्किँदा राप्रपा र राजावादी संगठनहरूले स्वागत गरेका थिए ।
गणतन्त्र स्थापनाका झण्डै डेढ दशकमा राजतन्त्रको पक्षमा आइतबार भएको भएको प्रदर्शनलाई अहिलेसम्मको ठूलो भनिएको छ ।