चालु आर्थिक वर्षको सात महिनामा उच्च शिक्षाका लागि विदेशी मुलुक जानेहरूले ठूलो धनराशी विदेश लगेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार शिक्षातर्फको व्यय ६४ अर्ब १५ करोड बराबर पुगेको छ ।
सेवा खाताअन्तर्गत भ्रमण व्यय १० दशमलव छ प्रतिशतले वृद्धि भई एक खर्ब १५ अर्ब ८८ करोड पुगेको छ । यसमध्ये शिक्षातर्फको व्यय ६४ अर्ब १५ करोड रहेको हो ।
बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु एक खर्ब चार अर्ब ७५ करोड रहेकामा शिक्षातर्फको व्यय रु ६६ अर्ब ६४ करोड थियो ।
सो अवधिमा खुद सेवा आय ५० अर्ब २२ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ३६ अर्ब ३८ करोडले घाटामा थियो ।
सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय सात दशमलव सात प्रतिशतले वृद्धि भई ४९ अर्ब २१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ४५ अर्ब ६८ करोड थियो ।