२३ असार २०८३, मंगलबार
बाँसको बजार

विश्वका दर्जन बढी देशमा पुग्छ बाँसजन्य उत्पादन, नेपाली बजारमा सकस किन ?

फागुन २७, २०८१
काठमाडौं
विश्वका दर्जन बढी देशमा पुग्छ बाँसजन्य उत्पादन, नेपाली बजारमा सकस किन ?

बाँस, नेपाली समाजमा परापूर्वकालदेखि नै प्रयोग हुँदै आएको छ । मानिसको जन्मदेखि मृत्युसम्म बाँस प्रयोग हुन्छ । त्यति मात्रै होइन, दैनिक जीवनमा पनि बाँसको प्रयोग हुन्छ । 

बाँसबाट दैनिक उपभोग्य वस्तुदेखि सजावटका सामानसम्म बन्छन् । बाँसबाट १५ सयभन्दा बढी वस्तुहरू बन्ने गर्दछन् । बाँसबाटै बन्ने विभिन्न आइटमहरू विदेशी मुलुकमा निर्यातसमेत हुने गरेको छ । 

भारत, चीन, दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया, बेल्जियम, क्यानडा, चेक रिपब्लिक, फ्रान्स, हङकङ, इटाली, मलेसिया, सिंगापुर, स्पेन, स्विजरल्याण्ड, ताइवान, थाइल्यान्ड, नेदरल्याण्ड, स्पेन लक्जम्बर र बेलायतलगायतसम्म नेपालबाट बाँसका उत्पादनहरू पुग्ने गरेको भन्सार विभागको तथ्यांकले देखाउँछ । 

भन्सार विभागकै तथ्यांक हेर्दा चालू आर्थिक वर्षको ७ महिनामा नेपालबाट ६ करोड ८५ लाख ६६ हजार रुपैयाँ बराबरको बाँसजन्य उत्पादनहरू निर्यात भएको छ । जसमा ९९ लाख ११ हजार रुपैयाँ बराबरको शुद्ध तामा र तामाको अचार निर्यात गरिएको देखिन्छ भने ५ करोड ८६ लाख ५५ हजार रुपैयाँ बराबरको बाँसजन्य प्रोडक्टहरू निर्यात भएको छ । 

बाँसजन्य उत्पादनमा बाँसबाट बन्ने प्लाइ, फर्निचर डिजाइनका सामग्रीलगायत अन्य विभिन्न प्रकारका वस्तु पर्दछन् । त्यस्तै, गत आर्थिक वर्ष २०८०/८१ भरी नेपालबाट १० करोड ६९ लाख २४ हजार रुपैयाँ बराबरका बाँसजन्य उत्पादनहरू निर्यात भएको देखिन्छ । 

वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रका अनुसार नेपालमा बाँसबाटै १५ सयभन्दा बढी आइटम अर्थात् बाँसजन्य उत्पादनहरू बन्ने गरेको छ । बाँसजन्य उत्पादनमा विभिन्न हस्तकलाका सामान, फर्निचर, घरायसी सामाग्री(डोका, डाला, थुन्से, भकारी, मान्द्रो, चित्रालगायत) बनाउने गरिन्छ । यसका साथै सजावटका सामाग्रीका लागि पनि बाँसको प्रयोग गरिन्छ  । 

बर्सेनि करोडौँको बाँस निर्यात 
पछिल्लो ७ वर्षको तथ्याङ्क हेर्दा नेपालबाट बर्सेनि करोडौंको बाँसजन्य वस्तु निर्यात हुँदै आएको छ । आर्थिक वर्ष २०७४/७५ मा कूल ७४ लाख २ हजारको बाँसजन्य वस्तुहरू निर्यात भएको थियो । जसमध्ये ४३ लाख ६५ हजारको शुद्ध तामा र तामाको अचार र ३० लाख ३७ हजारको बाँसजन्य उत्पादन निर्यात भएका थिए । बाँसजन्य उत्पादनबाट बन्ने प्लाइ, डिजाइनका सामग्रीलगायत अन्य विभिन्न प्रकारका सजावटमा प्रयोग हुने वस्तुहरू पर्दछन् । 

आर्थिक वर्ष २०७५/७६ मा १ करोड २८ लाख ५२ हजारका बाँसजन्य वस्तु निर्यात गरिएको थियो । जसमध्ये ३६ लाख ९१ हजारको बाँसजन्य उत्पादन निर्यात गरिएको थियो भने ९१ लाख ६१ हजारको शुद्ध तामा र तामाको अचार मात्रै निर्यात भएको थियो । 

आर्थिक वर्ष २०७६/७७ मा ७ करोड ११ लाख ७२ हजारको बाँसजन्य वस्तु निर्यात गरिएको थियो । वर्षभरी ६ करोड ९८ लाख ८९ हजारका बाँसजन्य उत्पादन मात्रै निर्यात भएका थिए । १२ लाख ८३ हजारका शुद्ध तामा र तामाको अचार मात्रै निर्यात गरिएको थियो । 

आर्थिक वर्ष २०७७/७८ मा कूल ७ लाख ५३ हजारको बाँसजन्य वस्तु नेपालबाट निर्यात भएको थियो । वर्षभरी नेपालबाट १ लाख १८ हजारका बाँसजन्य उत्पादन निर्यात हुँदा ६ लाख ३५ हजारको शुद्ध तामा र तामाको अचार निर्यात भएको थियो । 

आर्थिक वर्ष २०७८/७९ मा कूल १० लाख ११ हजारका बाँसजन्य वस्तु निर्यात भएको थियो । यस वर्ष २ लाख ९६ हजारका बाँसजन्य उत्पादन नियाँत हुँदा ७ लाख १५ हजारको शुद्ध तामा र तामाको अचार निर्यात भएको थियो । 

आर्थिक वर्ष २०७९/८० मा नेपालले ४ करोड ७ लाख १४ हजार रुपैयाँ बराबरको बाँसजन्य वस्तु निर्यात गरेको थियो । जसमध्ये शुद्ध तामा र तामाको अचार मात्रै २ करोड २ लाख ९६ हजारको निर्यात हुँदा २ करोड ४ लाख १८ हजारको बाँसजन्य बस्तु निर्यात भएको थियो । 

गत आर्थिक वर्ष २०८०/८१ मा नेपालबाट १० करोड ६९ लाख २४ हजारका बाँसजन्य उत्पादन निर्यात भएको देखिन्छ । जसमध्ये ८७ लाख ८५ हजारको शुद्ध तामा र तामाको अचार निर्यात गरिएको थियो भने ९ करोड ८१ लाख ३९ हजारको बाँसजन्य उत्पादन निर्यात गरिएको थियो । 

चालू आर्थिक वर्षको ७ महिनामा नेपालबाट ६ करोड ८५ लाख ६६ हजार रुपैयाँ बराबरको बाँसजन्य उत्पादन निर्यात गरिएको भन्सार विभागको तथ्याङ्कले देखाउँछ । जसमा ९९ लाख ११ हजारको शुद्ध तामा र तामाको अचार निर्यात गरिएको देखिन्छ भने ५ करोड ८६ लाख ५५ हजारको बाँसजन्य प्रोडक्ट निर्यात गरिएको थियो । 

बाँस तथा बाँसजन्य वस्तुमा बढ्दो आकर्षण
पछिल्ला वर्षमा बाँस तथा बाँसजन्य वस्तुमा आकर्षण बढ्दै गएको ग्रिन बेम्बो क्रियसनका सञ्चालक प्रणव प्रधान बताउँछन् । होटेल, रेस्टुरेन्ट तथा कार्यालयमा बाँसबाटै निर्मित सामग्रीको प्रयोग हुने गरेको उनको भनाइ छ । ‘बाँसबाटै थुप्रै वस्तुहरू बन्ने गर्दछन् । सजावटका लागिदेखि फर्निचर र घरायसी सामग्री बाँसबाटै बनाइन्छ’, उनले भने, ‘बाहिर निर्यात नगर्ने मात्रै हामीजस्तै केही उद्योगको वार्षिक करिब १२ करोड जतिको कारोबार हुन्छ ।’ 

प्रधानका अनुसार बाँसजन्य वस्तुका लागि नेपालमा पाँच प्रकारका बाँसको बढी प्रयोग भएको पाइन्छ । बाँसजन्य वस्तुहरू बनाउन मलो बाँसको बढी प्रयोग गरिने गरिन्छ । यो बाँस विशेषगरी नवलपरासी, चितवन, सिराहालगायत जिल्लाबाट ल्याउने गरिन्छ । त्यस्तै, लट्ठी बाँस विशेषगरी फनिर्चरका वस्तुहरू बनाउन बढी प्रयोग गरिने गरिन्छ । 

निगालो बाँस डेकुरेसनका सामग्री बनाउन बढी प्रयोग हुने गर्दछ । चाइनिज प्रजातिको मोसो बाँसको प्रयोग र माग बढ्दै गइरहेको उनको भनाइ छ । 

बाँसमा नेपालको आन्तरिक बजार करिब १ अर्बभन्दा बढी रहेको बताइन्छ । तर, निर्यातभन्दा आयात तीन गुणा बढी रहेको तथ्याङ्कले देखाउँछ । 
नेपालमा बाँसको सम्भावना हुँदा पनि किन बजार बन्न सकेन ? 

सरकारी अध्ययनअनुसार नेपालमा बाँसका मात्रै १२ जातका ५३ प्रजातिहरू पाइन्छन् । जसमध्येमा ७ प्रजातिहरू नेपालमा मात्रै पाइन्छन । यी सात प्रजातिका बाँसहरू विश्वको कुनै पनि राष्ट्रमा पाइँदैन । फैलिएर रहेको बाँसको क्षेत्रफल हेर्दा करिब ६० हजार हेक्टरमा रहेको अनुमान गरिन्छ । तर, वास्तविक तथ्याङ्क भने कुनै पनि निकायबाट अध्ययन गरिएको छैन । बाँस तराईको समथर क्षेत्रदेखि उच्च पहाडी क्षेत्रको करिब ४ हजार मिटरको उचाइको भू–भागमा पाइन्छ । 

नेपालमा बाँसबाटै १५ सयभन्दा बढी निर्मित हस्तकला तथा आइटमहरू बन्ने गरेका छन् । बर्सेनि करोडौँ रुपैयाँका बाँसजन्य वस्तुहरू निर्यात हुने गरेको छ । तर, निर्यातभन्दा आयात करिब ३ गुणा बढी छ । 

बाँसको महत्त्व र बाँसजन्य वस्तुहरू प्राथमिकतामा नपरेर सम्भावना हुँदा पनि यसबाट लाभ लिन नसकेको अनुसन्धानकर्ता एवं वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रका  महानिर्देशक डा. राजेन्द्र केसी बताउँछन् । बाँसजन्य वस्तुहरूको गुणस्तर र प्रतिस्पर्धी क्षमताका कारण सम्भावना हुँदा पनि नेपाली उत्पादनले मूल्य पाउन नसकेको उनको भनाइ छ । 

यस क्षेत्रमा सरकारी तथा निजी क्षेत्रबाट आवश्यक लगानी हुन नसकेको उनको भनाइ छ । ‘सरकारको प्राथमिकतामा यो परेको छैन । केही मात्रामा बाँसजन्य उत्पादनहरू हुँदै आएको छ र विदेशमा पनि निर्यात हुँदै आएको छ’, उनले भने, ‘तर निर्यातभन्दा बढी आयात छ । यसको प्रमुख कारण बाँसजन्य उत्पादनहरूको पहिचान नहुनु हो । यसको महत्त्व र सम्भावना कसैले बुझ्न सकेका छैनन् ।’ 

राष्ट्रको मौलिक वस्तुको संरक्षण र प्रवद्र्धन गर्न आवश्यक रहेको डा. केसी बताउँछन् । बाँस पनि सयौं वर्षअघिदेखि प्रयोग हुँदै आएको र यसको प्रवर्द्धन हुन नसकेको उनको भनाइ छ । 

‘राजा महाराजा कालदेखि नै बाँसको प्रयोग हुँदै आएको हो । चाहे हतियारको रूपमा बाँसको प्रयोग होस या दैनिक जीवनमा कामका लागि । बाँसको आफ्नै मौलिकता छ’, उनले भने, ‘झन् नेपालमा पाइने केही बाँसका प्रजाति विश्वका कुनै पनि कुनामा पाइँदैनन् । हामीले यसको संरक्षण गर्नुका साथै प्रवर्द्धन पनि गर्न आवश्यक छ । किनभने विदेशबाट बाँसजन्य वस्तु आयात बढ्दै गइरहेको छ ।’

salt training

कमेन्ट गर्नुहोस्