काठमाडौं, ५ माघ — अमेरिकामा रहेका लाखौं अवैध आप्रवासी कामदार निष्काशनको खतरामा रहेका छन् ।

डोनाल्ड ट्रम्पले निर्वाचन अभियानका क्रममा आप्रवासका सम्बन्धमा आफ्नो कठोर विचार राखेका थिए ।
हुन त सबै अमेरिकीहरू नै परम्परागत छविबाट टाढा रहेका राष्ट्रपतिले के गर्लान् भनेर अनिश्चितताको स्थितिमा छन् । तर अमेरिकामा अवैध तवरले छिरेका आप्रवासीलाई ट्रम्पबाट बढी डर छ ।
एक लाख जति अवैध आप्रवासी त त्यहाँ बालकको रूपमा प्रवेश गरेका थिए । राष्ट्रपति बाराक ओबामाले कार्यकारी आदेश दिएर उनीहरूलाई निष्काशन गर्नबाट अस्थायी रोक लगाएका छन् ।
ट्रम्पले निर्वाचन जितेयता आफ्नो स्थिति नरम बनाएको भएपनि राष्ट्रपति भइसकेपछि चाहिँ के गर्लान् भन्ने निश्चित छैन ।
ओबामा प्रशासनले अपराध कर्ममा लागेका आप्रवासीलाई मात्र देशनिकाला गर्ने अभियान चलाएका थिए ।
तर ट्रम्पले निर्वाचनका बेलामा सबै अवैध आप्रवासीलाई हटाउने प्रतिज्ञा गरेकोमा त्यसो नगरेमा उनलाई मत दिने व्यक्तिहरूले प्रतिकार गर्न सक्ने स्थिति छ ।
मेक क्यालिफोर्निया ग्रेट अगेन अभियानका सचिव माइक सिम्पफेन्डर्फरले ट्रम्प व्यावहारिक भएको र उनका कारण आप्रवासीले डराउनुपर्ने स्थिति नरहेको बताएका छन् । ‘नचोर्ने, डाँका नहाल्ने अनि गैरकानूनी गतिविधि नगर्ने हो भने आप्रवासीले ढुक्कले अमेरिका बसे हुन्छ,’ उनी भन्छन् ।