१३ असार २०८३, शनिबार

कुर्स्क क्षेत्रमा रहेका युक्रेनी सैनिकलाई आत्मसमर्पण गर्न पुटिनको आग्रह

चैत २, २०८१
काठमाडौं
कुर्स्क क्षेत्रमा रहेका युक्रेनी सैनिकलाई आत्मसमर्पण गर्न पुटिनको आग्रह

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी सैनिकहरूलाई आत्मसमर्पण गर्न आग्रह गरेका छन् । 

उनले रुसको कुर्स्क क्षेत्रमा रहेका युक्रेनी फौजले सर्वसाधारण विरुद्ध अपराध गरिरहेको आरोप समेत लगाएका छन्  ।

शुक्रबार सुरक्षा परिषद्को बैठकमा बोल्दै पुटिनले आत्मसमर्पण गर्ने सैनिकहरूको जीवन ग्यारेन्टी गरिएको दाबी गरे ।

साथै, उनले अमेरिका र रुसबीचको सम्बन्ध पुन:स्थापित गर्ने प्रयास भइरहेको बताए ।

'समग्रमा, अवस्था अगाडि बढ्दैछ,' उनले भने, 'हेरौं, के नतिजा आउँछ ।'

यसैबीच, अमेरिका, युक्रेन र रुसबीच युद्धविरामका लागि कूटनीतिक प्रयासहरू जारी छन् । 

यसै हप्ताको शुरूमा युक्रेनी अधिकारीहरूले अमेरिकी प्रस्तावअनुसार ३०- दिन युद्धविराम स्वीकृत गरेका थिए ।

यस प्रस्तावअनुसार सम्पूर्ण युद्धभूमिमा शत्रुता रोक्ने योजना थियो ।

पुटिनले अमेरिकी विशेष दूत स्टिभ विटकोफसँग मस्कोमा भेट गरेपछि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यसलाई 'सावधानीपूर्वक आशावादी बन्ने संकेत' भनेका छन्  ।

अमेरिकी राष्ट्रपति ट्रम्पले समेत वार्तालाई 'राम्रो र उत्पादनशील' भन्दै युद्ध अन्त्यको सम्भावना रहेको बताएका छन् ।

ट्रम्पले पुटिनसँग कुर्स्क क्षेत्रमा रहेका युक्रेनी सेनालाई जोगाउन आग्रह गरेका थिए । 

पुटिनले पनि त्यसलाई मान्यता दिँदै आत्मसमर्पण गर्ने सैनिकहरूलाई अन्तर्राष्ट्रिय कानुन र रुसी कानूनअनुसार सुरक्षित राखिने बताए ।

यता युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पुटिनको मनसायमा शंका व्यक्त गरेका छन् ।

उनले अमेरिका र उसका सहयोगी राष्ट्रसँग रुसलाई कडा दबाब दिन आग्रह गरेका छन् ।

'युद्ध शुरू भएको पहिलो दिनदेखि नै हामीले केवल एक कुरा चाहेका थियौं – रुसले हाम्रो भूमि छोडोस् र हाम्रो जनतालाई शान्ति देओस्,' जेलेन्स्कीले आफ्नो एक्स (ट्विटर) पोस्टमा लेखेका छन् ।

जेलेन्स्कीले पुटिनलाई युद्धविराम वार्ता बिथोल्ने प्रयास गरेको आरोप लगाए । 

उनले भने, 'पुटिन यो युद्ध अन्त्य गर्न चाहँदैनन् । त्यसैले उनी असम्भव र कठिन सर्तहरू राखेर वार्तालाई असफल बनाउन खोजिरहेका छन् ।'

यसैबीच, ब्रिटिश प्रधानमन्त्री कीर स्टार्मरले शनिबार युक्रेनलाई समर्थन गर्न युरोपेली र नेटो नेताहरूसँग भर्चुअल बैठक आयोजना गर्ने तयारी गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्