
तेह्रथुमको लालीगुराँस नगरपालिका–४ फुलेकका कृष्णबहादुर पौडेलको जीवन संघर्षपूर्ण मात्र होइन अत्यन्तै प्रेरणादायक पनि छ । उनले आफ्नो जीवनमा धेरै चुनौती पार गरेका छन् ।
दाउराको भारी बोकेर दिनभरी १० रूपैयाँ कमाउनेदेखि अर्काको देशमा गएर महिनामा १० हजार कमाएको अनुभवसमेत उनीसँग छ ।
अहिले भने पौडेल सफल उद्यमी बनेका छन् । विदेशको पीडादेखि स्वदेशमा सफल व्यवसाय सञ्चालनसम्मको उनको जीवन यात्रा रोचक छ ।
२०५९ सालदेखि उनको विदेशिने यात्रा शुरू भयो । उनले तीन वर्ष मलेसियामा बिताए । त्यतिबेला उनको तलब मासिक १० हजार मात्रै थियो । त्यसपछि उनी दुई वर्ष कतार गए । फेरि तीन–तीन वर्ष मलेसिया र कतारमा बिताए । ११ वर्ष विदेशको भूमिमा पसिना बगाएका कठोर दिनहरू उनी सम्झिन्छन् । ११ वर्षसम्म विदेशमा बसेका पौडेलले कम्पनी, पेट्रोलपम्प र कारपेन्टरको रूपमा काम गरे ।
‘शुरूआती तलब १० हजार थियो । पछि कतारमा २५–३० हजार भयो । मलेसियामा जाँदा ५० हजारसम्म पुग्यो । कतारमा पनि ४०–५० हजार नै थियो’, उनले विगत सम्झिए ।
विदेशमा बस्ने नेपालीले धेरै पीडा भोग्नुपरेको उनी बताउँछन् । ‘त्योबेला भाषा नबुझिने समस्या थियो । भाषा सिकेर जाने चलन थिएन । मालिकले गाली गर्ने, कुटपिट गर्नेजस्ता पीडा भोग्नुपर्थ्यो’, उनले भने, ‘एकछिन बसेको देखे मालिकले गाली गरिहाल्थे । फोन गर्दा शौचालयमा गएर गर्नुपर्थ्यो ।’
कृष्णबहादुरले पाँच वर्षअघि नेपालमै बस्ने योजना बनाएर एउटा पसल खोले । त्यो पसललाई उद्योगमा रूपान्तरण गर्ने उनको योजना छ । उनले नौनी र छुर्पी उत्पादन गर्छन् । यी उत्पादनहरू काठमाडौं र स्थानीय बजारमा बिक्री गर्छन् । नौनी घरबाटै पनि बिक्री हुने गरेको उनले बताए । छुर्पी भने धेरै काठमाडौंमा बिक्री गर्छन् ।
मासिक खर्च कटाएर उनी एक लाख जति कमाउँछन् । फुलेकका किसानहरूबाट दैनिक ८०० लिटर दूध किन्छन् । उनले ५० जना किसानबाट दूध किन्ने गरेका छन् । किसानलाई मासिक रूपमा दूधको पैसा दिन्छन् । महिनाको १ गतेदेखि १० गतेभित्रमा दूधको पैसा किसानलाई दिइसक्ने गरेको उनले बताए ।
यता, सरकारकै स्वामित्वमा रहेको दुग्ध विकास संस्थानबाट आफूले बेचेको दूधको भुक्तानी नपाउँदा किसान अप्ठ्यारोमा परेका छन् । गत भदौयता उनीहरूले भुक्तानी पाएका छैनन् ।
पौडेलले भने मासिक पैसा दिने गरेका छन् । किसानलाई सहयोग पुर्याउन उनले गाईवस्तुका लागि दाना र ढुट्टो पनि दिने गर्छन् । मानिसहरूका लागि खाद्यान्न सामग्रीसमेत दिने गर्छन् । किसानहरूले मागेका बेला सामग्री दिन सकिए उनीहरू पनि खुसी हुने गरेको कृष्ण बताउँछन् ।
उनले गाईको दूधको लिटरको ५० र भैंसीको ५६ रूपैयाँ दिन्छन्। शुद्ध दूध भएमा त्योभन्दा बढी पैसा दिने गरेको उनले बताए।
गाईवस्तु पालेर नै घर व्यवहार चलाउने किसान धेरै छन् । उनीहरूलाई मासिक रूपमा भुक्तानी गर्न नसकिए समस्या पर्ने उनी बताउँछन् । ३०० लिटर दूध किसानहरूले पसलमै लिएर आउँछन् भने ५०० लिटर उनी आफ्नै ट्याक्टरबाट ओसार्ने गर्छन् । ‘किसानहरूले दूध एक ठाउँमा जम्मा गरेर राख्छन्’, उनले भने, ‘अनि ट्याक्टर पठाएर ल्याउँछौं । किसानलाई चाहिने सामग्री पनि त्यही ट्याक्टरमा नै पठाइदिन्छु।’
कृष्ण मात्र होइन उनका सबै दाजुभाइ कृषक हुन् । उत्पादन गरिएका छुर्पी र घ्यु काठमाडौंमा बेच्न कुनै समस्या नभएको उनी बताउँछन् । गुणस्तरमा ध्यान दिएपछि बजारको समस्या नदेखिएको उनको भनाइ छ।
छुर्पी र घ्यु रात्रिबसमा पठाइदिने गरेको उनले बताए । काठमाडौंमा भने खगेन्द्र थापाले बेच्ने गरेको कृष्णले सुनाए ।
सुखद् थिएन बाल्यकाल
पौडेलको पारिवारिक अवस्था दु:खद् नै थियो। पाँच भाइ छोरामा उनी काइलो छोरा हुन् । उनका पिताले तीनवटा बिहे गरेका थिए । त्यसमध्ये कृष्णकी आमा कान्छी हुन् ।
उनले सानैदेखि धेरै दुःख गरे । अरूको घरमा काम गर्थे। आलु खन्ने, दाउरा बोक्ने, मल बोक्ने, दाउरा चिर्ने लगायतका काम गर्दै उनले बाल्यकाल बताए । ‘दिनभरी काम गर्दा १५–१६ वर्षको उमेरमा १० देखि २० रूपैयाँसम्म पाउँथें । पहिला १० रूपैयाँ, पछि १५ रूपैयाँ र धेरैपछि २० रूपैयाँ दिन्थे’, उनले भने।
अहिले उनी ४५ वर्षका भए । कृष्णबहादुरले ७ कक्षासम्म मात्रै पढ्न पाए । आर्थिक अवस्था कमजोर र घरमा सल्लाह दिने अभिभावक नभएकाले पढ्न नपाएको उनको गुनासो छ ।
कृष्णबहादुर पाँच सन्तान छन् । उनका चार छोरी र एक छोरा हुन् । जेठी छोरी मनिषा काठमाडौंमा मास्टर्स डिग्री पढ्दैछिन् । माइली छोरी मुना जापान गएकी छिन् भने साइली छोरी ममता धनकुटामा बीबीएस पढ्दैछिन् । कान्छी छोरी मनिका धनकुटामै विज्ञान संकाय पढ्दैछिन् । छोरा प्रभाष धनकुटामै तीन कक्षामा पढ्ने गरेको उनले बताए।
कृष्णबहादुरले ट्याक्टर चालकसहित चार जनालाई रोजगारी समेत दिएका छन् । श्रीमती तेजकुमारीले व्यवसायमा पूर्ण रूपमा सघाइरहेकी छन् ।
अहिले आफ्नो कामबाट सन्तुष्ट रहेको उनले सुनाए । स्वदेशमै राम्रो कमाइ गर्न सकिन्छ भन्ने बल्ल बुझेको उनी बताउँछन् ।
‘म एक जनाले गर्दा ५० जना कृषकलाई सहज भएको छ’, उनले भने, ‘जे गरे पनि यहीँ बसेर नियमित रूपमा गर्न सके नेपालमा पनि राम्रो आम्दानी हुँदो रहेछ । म अहिले यसैमा खुसी छु ।’