१९ असार २०८३, शुक्रबार
कृष्णबहादुरको जीवन यात्रा

दिनभरि दाउरा बोकेको १० रूपैयाँदेखि ११ वर्षसम्म विदेशको चक्कर, गाउँ फर्किएर बने उद्यमी

चैत २, २०८१
विराटनगर
दिनभरि दाउरा बोकेको १० रूपैयाँदेखि ११ वर्षसम्म विदेशको चक्कर, गाउँ फर्किएर बने उद्यमी

तेह्रथुमको लालीगुराँस नगरपालिका–४ फुलेकका कृष्णबहादुर पौडेलको जीवन संघर्षपूर्ण मात्र होइन अत्यन्तै प्रेरणादायक पनि छ । उनले आफ्नो जीवनमा धेरै चुनौती पार गरेका छन् । 

दाउराको भारी बोकेर दिनभरी १० रूपैयाँ कमाउनेदेखि अर्काको देशमा गएर महिनामा १० हजार कमाएको अनुभवसमेत उनीसँग छ ।  

अहिले भने पौडेल सफल उद्यमी बनेका छन् ।  विदेशको पीडादेखि स्वदेशमा सफल व्यवसाय सञ्चालनसम्मको उनको जीवन यात्रा रोचक छ ।

२०५९ सालदेखि उनको विदेशिने यात्रा शुरू भयो । उनले तीन वर्ष मलेसियामा बिताए । त्यतिबेला उनको तलब मासिक १० हजार मात्रै थियो । त्यसपछि उनी दुई वर्ष कतार गए । फेरि तीन–तीन वर्ष मलेसिया र कतारमा बिताए । ११ वर्ष विदेशको भूमिमा पसिना बगाएका कठोर दिनहरू उनी सम्झिन्छन् । ११ वर्षसम्म विदेशमा बसेका पौडेलले कम्पनी, पेट्रोलपम्प र कारपेन्टरको रूपमा काम गरे ।

‘शुरूआती तलब १० हजार थियो । पछि कतारमा २५–३० हजार भयो । मलेसियामा जाँदा ५० हजारसम्म पुग्यो । कतारमा पनि ४०–५० हजार नै थियो’, उनले विगत सम्झिए । 

विदेशमा बस्ने नेपालीले धेरै पीडा भोग्नुपरेको उनी बताउँछन् । ‘त्योबेला भाषा नबुझिने समस्या थियो । भाषा सिकेर जाने चलन थिएन । मालिकले गाली गर्ने, कुटपिट गर्नेजस्ता पीडा भोग्नुपर्थ्यो’, उनले भने, ‘एकछिन बसेको देखे मालिकले गाली गरिहाल्थे । फोन गर्दा शौचालयमा गएर गर्नुपर्थ्यो ।’

कृष्णबहादुरले पाँच वर्षअघि नेपालमै बस्ने योजना बनाएर एउटा पसल खोले । त्यो पसललाई उद्योगमा रूपान्तरण गर्ने उनको योजना छ । उनले नौनी र छुर्पी उत्पादन गर्छन् ।  यी उत्पादनहरू काठमाडौं र स्थानीय बजारमा बिक्री गर्छन् । नौनी घरबाटै पनि बिक्री हुने गरेको उनले बताए । छुर्पी भने धेरै काठमाडौंमा बिक्री गर्छन् । 

मासिक खर्च कटाएर उनी एक लाख जति कमाउँछन् ।  फुलेकका किसानहरूबाट दैनिक ८०० लिटर दूध किन्छन्  । उनले ५० जना किसानबाट दूध किन्ने गरेका छन् ।  किसानलाई मासिक रूपमा दूधको पैसा दिन्छन् । महिनाको १ गतेदेखि १० गतेभित्रमा दूधको पैसा किसानलाई दिइसक्ने गरेको उनले बताए ।

यता, सरकारकै स्वामित्वमा रहेको दुग्ध विकास संस्थानबाट आफूले बेचेको दूधको भुक्तानी नपाउँदा किसान अप्ठ्यारोमा परेका छन् ।  गत भदौयता उनीहरूले भुक्तानी पाएका छैनन् । 

पौडेलले भने मासिक पैसा दिने गरेका छन् ।  किसानलाई सहयोग पुर्‍याउन उनले गाईवस्तुका लागि दाना र ढुट्टो पनि दिने गर्छन् ।  मानिसहरूका लागि खाद्यान्न सामग्रीसमेत दिने गर्छन् ।  किसानहरूले मागेका बेला सामग्री दिन सकिए उनीहरू पनि खुसी हुने गरेको कृष्ण  बताउँछन् । 

उनले गाईको दूधको लिटरको ५० र भैंसीको ५६ रूपैयाँ दिन्छन्। शुद्ध दूध भएमा त्योभन्दा बढी पैसा दिने गरेको उनले बताए। 

गाईवस्तु पालेर नै घर व्यवहार चलाउने किसान धेरै छन् ।  उनीहरूलाई मासिक रूपमा भुक्तानी गर्न नसकिए समस्या पर्ने उनी बताउँछन् । ३०० लिटर दूध किसानहरूले पसलमै लिएर आउँछन् भने ५०० लिटर उनी आफ्नै ट्याक्टरबाट ओसार्ने गर्छन् । ‘किसानहरूले दूध एक ठाउँमा जम्मा गरेर राख्छन्’, उनले भने, ‘अनि ट्याक्टर पठाएर ल्याउँछौं । किसानलाई चाहिने सामग्री पनि त्यही ट्याक्टरमा नै पठाइदिन्छु।’

कृष्ण मात्र होइन उनका सबै दाजुभाइ कृषक हुन् ।  उत्पादन गरिएका छुर्पी र घ्यु काठमाडौंमा बेच्न कुनै समस्या नभएको उनी बताउँछन् ।  गुणस्तरमा ध्यान दिएपछि बजारको समस्या नदेखिएको उनको भनाइ छ। 

छुर्पी र घ्यु रात्रिबसमा पठाइदिने गरेको उनले बताए । काठमाडौंमा भने खगेन्द्र थापाले बेच्ने गरेको कृष्णले सुनाए ।​​

सुखद् थिएन बाल्यकाल
पौडेलको पारिवारिक अवस्था दु:खद् नै थियो। पाँच भाइ छोरामा उनी काइलो छोरा हुन् ।  उनका पिताले तीनवटा बिहे गरेका थिए । त्यसमध्ये कृष्णकी आमा कान्छी हुन् । 

उनले सानैदेखि धेरै दुःख गरे । अरूको घरमा काम गर्थे। आलु खन्ने, दाउरा बोक्ने, मल बोक्ने, दाउरा चिर्ने लगायतका काम गर्दै उनले बाल्यकाल बताए । ‘दिनभरी काम गर्दा १५–१६ वर्षको उमेरमा १० देखि २० रूपैयाँसम्म पाउँथें । पहिला १० रूपैयाँ, पछि १५ रूपैयाँ र धेरैपछि २० रूपैयाँ दिन्थे’, उनले भने।

अहिले उनी ४५ वर्षका भए । कृष्णबहादुरले ७ कक्षासम्म मात्रै पढ्न पाए । आर्थिक अवस्था कमजोर र घरमा सल्लाह दिने अभिभावक नभएकाले पढ्न नपाएको उनको गुनासो छ । 

कृष्णबहादुर पाँच सन्तान छन् ।  उनका चार छोरी र एक छोरा हुन् । जेठी छोरी मनिषा काठमाडौंमा मास्टर्स डिग्री पढ्दैछिन् । माइली छोरी मुना जापान गएकी छिन् भने साइली छोरी ममता धनकुटामा बीबीएस पढ्दैछिन् । कान्छी छोरी मनिका धनकुटामै विज्ञान संकाय पढ्दैछिन् । छोरा प्रभाष धनकुटामै तीन कक्षामा पढ्ने गरेको उनले बताए।

कृष्णबहादुरले ट्याक्टर चालकसहित चार जनालाई रोजगारी समेत दिएका छन् । श्रीमती तेजकुमारीले व्यवसायमा पूर्ण रूपमा सघाइरहेकी छन् । 

अहिले आफ्नो कामबाट सन्तुष्ट रहेको उनले सुनाए । स्वदेशमै राम्रो कमाइ गर्न सकिन्छ भन्ने बल्ल बुझेको उनी बताउँछन् । 

‘म एक जनाले गर्दा ५० जना कृषकलाई सहज भएको छ’, उनले भने, ‘जे गरे पनि यहीँ बसेर नियमित रूपमा गर्न सके नेपालमा पनि राम्रो आम्दानी हुँदो रहेछ । म अहिले यसैमा खुसी छु ।’

salt training

कमेन्ट गर्नुहोस्